१० असार २०८३, बुधबार | Wed Jun 24 2026

कपिलवस्तु नगरपालिकाले दियो ४ दिन गर्मी बिदा



मायादेवी अनलाइन, तौलिहवा ।
अत्यधिक गर्मीका कारण कपिलवस्तु नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा चार दिनका लागि गर्मी बिदा दिएको छ।

नगर कार्यपालिकाको कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार पछिल्ला केही दिनदेखि तराई क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएको र विद्यालयमा पठनपाठन सञ्चालन गर्न कठिन भएको भन्दै बिदा दिने निर्णय गरिएको हो।

नगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूलाई असार १० गतेदेखि १३ गतेसम्म गर्मी बिदा दिन निर्देशन दिएको छ।

बढ्दो तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले वर्षे बिदाबाट मिलान हुने गरी बिदा व्यवस्थापन गरिएको सूचनामा उल्लेख छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवद्वारा हस्ताक्षरित सूचनामा विद्यार्थीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जनाइएको छ।

अत्यधिक गर्मीका कारण पछिल्लो समय तराईका विभिन्न जिल्लामा समेत विद्यालयहरूमा बिदा दिने क्रम बढिरहेको छ।

कपिलवस्तु नगरपालिकाको यो निर्णयले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १० असार २०८३ बुधबार ००:००  ७ : १९ बजे