कपिलवस्तु ।
श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले एक समारोहबीच सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ । समूहको आर्थिक वर्ष २०८२।८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकलाई अनुदान वितरण, ज्येष्ठ नागरिकलाई सम्मान तथा पुनस्थार्पन केन्द्रलाई सहयाेग गरेको हो। शुक्रबार व्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालयको सभाहलमा आयोजित कार्यक्रममा वनको १४ मौजा भित्रका २ सय ७५ जना ज्येष्ठ नागरिकलाई छाता, नगद तथा रामनामी सल प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा ५ वटा सामुदायिक विद्यालयका शिक्षकलाई १ महिनाको १५ हजारको दरले बार्षिक १ लाख ८० हजार रकम हस्तान्तरण साथै अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धकाे दिवस पारेर २ वटा फाउण्डेसनलाई जनही ४५ हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको थियो।
समूहका अध्यक्ष सुशील सिंह ठकुरीले सामुदायिक वनको उद्देश्य वन संरक्षण संगसंगै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, ज्येष्ठ नागरिकको सम्मान, स्वच्छ समाज तथा समुदायको समग्र विकासमा योगदान पु¥याउनु रहेको स्पस्ट पारे। अध्यक्ष ठकुरीले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण सहयोग र समन्वय गर्नुभएकी ईश्वरीय विश्व विद्यालय जितपुर प्रमुख राधिका दीदी प्रति धन्यवाद तथा आभार प्रकट गरेका छन् ।
सोही अवसरमा मोतिपुर सब डिभिजन वन कार्यालयका प्रमुख एजाज अन्सारीले सामुदायिक वनले संरक्षणसँगै शिक्षा, सामाजिक सेवा र जनहितका क्षेत्रमा बनले पुरयाएको योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिक नेपालका केन्द्रीय उपाध्यक्ष राम पौडेलले सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जेष्ठ नागरिकको सम्मान र हितका लागि उदाहरणीय काम गरिरहेकोमा खुशी व्यक्त गरेका छन्।
त्यसैगरी ब्रमाकुमारी ईश्वरीय विश्व विद्यालयकी राधिका दिदिले वनले समाज कल्याणका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमको प्रशंसा गर्दै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जाेड दिइन् । त्यस्तै बाणगंगा मावि गजेहडाका प्रअ रामप्रसाद भण्डारी तथा फ्रिडम फाउण्डेसनका अध्यक्ष हेमन्त थापाले वनले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेका कार्यक्रम समुदायका लागि अनुकरणीय र प्रभावकारी रहेको धारणा राखेका थिए ।
कार्यक्रम समुहकी सचिव सुस्मा खाँणकाे संचालन तथा उपाध्यक्ष बुद्धबहादुर शाहीले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा वनका पदाधिकारी, कर्मचारी, १४ मौजाका संयोजक, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।













प्रतिक्रिया