बाबुराम रायमाझी,भलवाड ।
वाणगंगा नगरपालिका–९, भर्तापुरमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट कुल ९ सय ४ जना सेवाग्राही लाभान्वित भएका छन्। नगरपालिकाले स्थानीय नागरिकलाई घरदैलोमै सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरेको हो।शिविरमा विभिन्न शाखामार्फत सेवा प्रदान गरिएको थियो। जसअनुसार ज्येष्ठ नागरिक परिचयपत्र नवीकरण सेवा २२ जनाले, व्यवसाय दर्ता तथा नवीकरण सेवा २ जनाले तथा दर्तासम्बन्धी परामर्श सेवा १० जनाले लिएका थिए। त्यसैगरी स्वास्थ्य शाखाबाट १ सय ३७ जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्राप्त गरेका थिए भने आयुर्वेद शाखाबाट २ सय ५४ जनाले सेवा लिएका थिए।
कृषि विकास शाखाले २ सय ५२ जना कृषकलाई विभिन्न बिउबिजन वितरण गरेको थियो भने पशु विकास शाखामार्फत १ सय ३६ जना किसानलाई पशु औषधि वितरण गरिएको थियो। यस्तै, सुरक्षित आप्रवासन शाखाबाट ९२ जनाले परामर्श तथा आवश्यक जानकारी प्राप्त गरेका थिए। भने कुल ९ सय ४ जनाले सेवा लिएको वाणगंगा नगरपालिका राजस्व शाखा प्रमुख मदन घिमिरेले जानकारी दिएका थिए ।
शिविरमा वाणगंगा नगर प्रमुख चक्रपाणि अर्यालले आफू निर्वाचित भएपछि नगरको पहुँचबाट टाढा रहेका वडाका नागरिकलाई लक्षित गर्दै हरेक वर्ष एकीकृत घुम्ती शिविर सञ्चालन गर्दै आएको बताए। उनले नागरिकलाई नगरपालिका कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गरी घरदैलोमै सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गरेका थिए ।घुम्ती शिबिरमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले शिविरको अनुगमन गर्दै सेवाप्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए।
वडा नं। ९ का अध्यक्ष कमल पौडेलले शिविरको सहजीकरण गर्दै स्थानीयवासीको उल्लेखनीय सहभागिताले यस्ता कार्यक्रमको आवश्यकता पुष्टि भएको बताए। उनले आगामी दिनमा पनि नागरिकको आवश्यकताअनुसार यस्ता सेवा निरन्तर सञ्चालन गरिने विश्वास व्यक्त गरेका थिए ।
वाणगंगा नगरपालिकाको आयोजनामा सम्पन्न उक्त एकीकृत घुम्ती शिविरमा कृषि, पशु, स्वास्थ्य, आयुर्वेद, राजस्व, महिला विकास, योजना, भूमि, सुरक्षित आप्रवासन, प्रधानमन्त्री रोजगारलगायत विभिन्न शाखाबाट सेवा प्रवाह गरिएको थियो। स्थानीयवासीले आफ्नै वडामा एकै स्थानबाट विविध सरकारी सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका थिए।











प्रतिक्रिया