२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

‘वन संरक्षणमा सबैको साझा सहकार्य आवश्यक’



कपिलवस्तु । नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाको आयोजनामा वन व्यवस्थापन, अध्ययन–अनुसन्धान तथा संरक्षण सम्बन्धी अन्तरक्रिया एवं वन क्षेत्रको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ। तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको सहयोगमा शनिबार कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै साझेदारी वन महासङ्घका अध्यक्ष जयप्रकाश पाण्डेले वन संरक्षण सरकार वा वनकर्मीको मात्र दायित्व नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले वन व्यवस्थापनमा स्थानीय समुदायको सक्रिय सहभागिता, वैज्ञानिक अध्ययन–अनुसन्धान तथा प्राकृतिक स्रोतको दिगो उपयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। वन व्यवस्थापनले राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याउने योगदानबारे सबै नागरिक जानकार हुन आवश्यक रहेको उहाँको भनाइ थियो।

गोरुसिङ्गे सब–डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मोतिराम पौडेलले वन संरक्षणमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै वन क्षेत्रमा गरिएको व्यवस्थापनका कार्यबारे जानकारी दिनुभयो। उहाँका अनुसार २०६९/७० सालमा कटान गरिएको क्षेत्रमा पुनरुत्पादन कटानअन्तर्गत बूढा रुख हटाएर व्यवस्थित व्यवस्थापन गरिएको थियो भने करिब १० वर्षपछि त्यसको पुनः मूल्याङ्कन गरी थप व्यवस्थापन गरिएको छ।

नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले वातावरण संरक्षण र वन क्षेत्रका सकारात्मक गतिविधिलाई जनतासम्म पुर्‍याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले कपिलवस्तुका प्राकृतिक तथा पर्यटकीय सम्भावनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न तथा बजारीकरण हुन नसकेका स्थानीय उत्पादन र सम्भावनालाई सञ्चारमाध्यममार्फत प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।

सब–डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत दीपक केसीले देशकै ठूलो साझेदारी वनको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा महासङ्घका उपाध्यक्ष खगप्रसाद चापागाईंले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सह–सचिव कृष्णप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा वन कार्यालयका कर्मचारी, वन प्राविधिक, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रियापछि सहभागीहरूले वन क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन गरेका थिए।

प्रकाशित मिति : २७ असार २०८३ शनिबार ००:००  १० : ०८ बजे