एजेन्सी ।
हाम्रो मानसिक स्वास्थ्यले नै हाम्रो शरीरलाई पूर्ण रूपमा स्वस्थ राख्न मद्दत गर्छ । आमाबाबुको रूपमा हामीले आफ्ना छोराछोरीको मानसिक स्वास्थ्य सुधार गर्न पनि मद्दत गर्छौं । बच्चाहरू प्रायः जीवनका जटिलता र चुनौतीहरूबाट डराउँछन् ।
यसले उनीहरूको मानसिक स्वास्थ्यलाई असर गर्छ । उनीहरूको मानसिक स्वास्थ्य बिग्रएपछि यसलाई सुधार्न कदम चाल्नुको सट्टा हामी शुरुमै यस्ता केही सावधानीहरू अपनाउन सक्छौं, जसले उनीहरूलाई मानसिक रूपमा कसरी राम्रो महसुस गर्ने, खुसी रहने र शान्त रहनेजस्ता कुरा सिकाउनेछ । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले बालबालिकाहरूको मानसिक स्वास्थ्य सुधार गर्न आमाबाबुले गर्न सक्ने कुराहरूबारे बताएको छ । जुन यस प्रकार रहेको छः
विवादहरूलाई मिलेर समाधान गर्ने
केटाकेटीसँग आमाबाबुहरूको प्रायः कतिपय चिजमा कुरै मिल्दैन । कतिपय चिज ‘यस्तो हो है’ भनेर सम्झाउन खोज्दा बुझ्दै बुझ्दैनन् । कतिपय अवस्थामा मातापिताले पनि छोराछोरीको धारणा र चाहना बुझ्न सक्दैन । यसले गर्दा दुई पक्षबीच प्रायः मतभेद भइरहन्छ ।
असहमतिहरूको यस्तो समयमा पनि आफ्नो बच्चालाई राम्रो उदाहरण दिन सक्नुहुन्छ । धैर्य कायम राख्नुहोस् मिलेर असहमति र मतभेदको हल निकाल्नुहोस् । यसो गर्दा बच्चाले पनि जीवनको ठुलो पाठ सिक्न सक्छन् ।
भावनाहरू साटासाट गर्न सिकाउनुस्
अभिभावकहरूले जहिले पनि छोराछोरीलाई आफ्ना भावनाहरू साट्न प्रोत्साहित गर्ने प्रयास गर्नुपर्छ । उनीहरूका लागि समय निकाल्नुहोस् । दिन कस्तो रह्यो रु के के गरे ? दिनभरमा के राम्रो भयो ? के नराम्रो भयो ? भन्ने लगायत कुराहरू सोध्नुहोस् । जस्तोसुकै समस्या र परिस्थितिमा पनि आफू बच्चाको साथमा छु र हुनेछु भनेर स्मरण गराइरहनुहोस् । केटाकेटीको दिमागमा के कुरा चलिरहेको छ ? कस्तो महसुस गरिरहेका छन् भनेर जान्न खोज्नुहोस् ।
आफ्नो पनि ख्याल राख्नुहोस्
केटाकेटीहरू आफैंले आफ्नो ध्यान राख्न सक्दैनन्, तर तपाईंले राम्रोसँग आफ्नो ख्याल राखेर बच्चाहरूलाई सेल्फ केयर जरुरी छ भनेर सिकाउन सक्नुहुन्छ । तपाईंलाई हेरेर नै केटाकेटीहरूले सिक्ने हुन् । हरेक दिन आफ्नो तनाव समाधान गर्न र व्यवस्थापन गर्न आफ्नो लागि केही न केही समय निकाल्नुहोस् ।
बालबालिकालाई सपोर्ट गर्नुहोस्
हुर्कँदै गर्दा अनिश्चितता र विकल्पहरूको अभावले बच्चाहरू आत्तिन्छन् । यस्ता स्थितिमा कसरी व्यवहार गर्ने, प्रतिकूल अवस्थामा कसरी नआत्तिकन बस्ने भनेर बच्चालाई सिकाउनुहोस् । जीवनमा कुनै पनि चिज चाहेको जस्तो नहुन सक्छ । यस्तोमा बच्चाको मनमा असुरक्षा, भय र रिस पनि आउन सक्छ ।
यस्तो अवस्थामा, आफ्ना बच्चाहरूको कुरा सुन्नहोस्, उनीहरूको डर भगाउन र शान्त रहन मद्दत गर्नुहोस् ।









प्रतिक्रिया