८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेपाली कला संस्कृतिको जगेर्नाले मात्र मुलुक संमृद्ध : सांसद पन्थी



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
प्रदेश सांसद विष्णु पन्थीले नेपाली कला संस्कृतिको जगेर्नाले मात्र मुलुक संमृद्ध हुने बताउनु भएको छ । नेपालमा भएका विविध धर्म, कला, संस्कृति र भेषभूषा मुलुकका अमूल्य नीधि भएकाले यसको संरक्षण र जगेर्नाविना मुलुकले संमृद्धि हासिल गर्न नसक्ने प्रमुख अतिथि पन्थीले बताउनु भएको हो ।
मगर समुदायको प्रमुख सांस्कृतिक राष्ट्रिय पर्व मकरसंक्रान्तिको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति कपिलवस्तुले बोडगाउँमा आयोजना गरेको विशेष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पन्थीले मगर समुदायमा रहेको सांस्कृतिक विशिष्टता मुलुकको अमूल्य गहना भएको बताउनुभयो ।
भौतिक विकास संगै मुलुकमा बढीभन्दा बढी सांस्कृतिक व्यापार हुन सके हरेक समुदाय र जातीको विकास हुने भन्दै यसको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । यसको लागि बेला मौकामा मात्र नभई नियमित रुपमा जातजाति, भेषभुषा र मौलिक खानपान झल्कने प्रकारले सांस्कृतिक मेला र कार्यक्रम गर्न सके पर्यटनमा समेत टेवा पुग्ने सांसद पन्थीको भनाई छ ।
कार्यक्रममा बाणगंगाा नगरपालिकाका उपप्रमुख चक्र अर्यालले माघे संक्रान्ती पर्व सबैको साझा पर्व भए पनि मगर समुदायले नयाँ बर्षको रुपमा धुमधामपूर्वक मनाएर नेपाली मौलिक संस्कृति र कलाको सम्मान गरेको बताउनुभयो ।
उहाँले स्थानीय सरकारले अब स्थानीय पाठ्यक्रम बनाएर लागु गर्न लागेकाले मगर जाति र संस्कृति सम्बन्धि सुझावहरु पेश गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । कार्यक्रममा बिभिन्न राजनैतिक दल तथा संघसंस्थाका प्रतिनिधिले आफ्नो भनाई राख्नु भएको थियो ।

प्रकाशित मिति : १ माघ २०७५ मंगलबार ००:००  २ : ३१ बजे