८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भेनेजुयलामा अमेरिकी हस्तक्षेपबारे सरकार र प्रचण्डको वक्तव्यमा नेकपा सचिवालय सहमत



काठमाडौं ।
सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले भेनेजुयलामाथि अमेरिकाले गरेको राजनीतिक हस्तक्षेपबारे पार्टी र सरकारले राखेको अडान कायमै रहेको जनाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले कुनै पनि मुलुकमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या देखिए त्यहीँका जनताले शान्तिपूर्ण रूपमा समाधान खोज्नुपर्ने नेकपाको धारणा रहेको दोहोर्‍याएको हो। संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलका सिद्धान्तप्रति पार्टी सधैँ प्रतिवद्ध रहेको र हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने नेकपाले जनाएको छ। सचिवालय बैठकका निर्णय सुनाउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ुकुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमा कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ।ु भेनेजुयलामा अमेरिकाको हस्तक्षेप भएको भन्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ११ गते विज्ञप्ति जारी गरेका थिए। उनले अमेरिकाले भेनेजुयलामा गरेको हस्तक्षेपको कडा शब्दमा निन्दा गरेका थिए। प्रचण्डको विज्ञप्तिपछि अमेरिकाले भेनेजुयला प्रकरणमा नेपाल सरकारको आधिकारिक धारणा मागेको थियो। परराष्ट्र मन्त्रालयले कूटनीतिक भाषामा तर प्रचण्डकै भावमा वक्तव्य जारी गरेको थियो। कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यहिँ देशको संवैधानिक प्रावधानअनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेपबिना समाधान हुनुपर्ने सरकारको वक्तव्यमा उल्लेख थियो। लगतै सरकारले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर ब्रिफिङ गरेको थियो जसमा अमेरिकी राजदूत रेन्डी बेरी अनुपस्थित थिए। सत्तारुढ नेकपाले भने पार्टीको धारणा दोहोर्‍याउँदै सचिवालय बैठकबाटै वक्तव्य जारी गरेको छ। ुयस पार्टीको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र द्विविधा छैन। यस सम्बन्धमा पार्टीको दृष्टिकोण र नीतिहरू स्पष्ट र स्थिर छु, प्रवक्ता श्रेष्ठले भने। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको ब्रिफिङमा अमेरिकी राजदूत नआएको लगायतका विषयमा जानकारी गराएका थिए।

प्रकाशित मिति : २१ माघ २०७५ सोमबार ००:००  ८ : ५६ बजे