८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

नाइट क्लबमा फुटबलर काण्डः एन्फाकै पदाधिकारीमाथि शंका



काठमाडौँ ।
ठमेलको नाइट क्लबमा गएका कारण खेलाडी विमल घर्तीमगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी राष्ट्रिय टिमबाट हटाइए ।
उनीहरु विश्वकप फुटबलको एसियाली क्षेत्रको छनौट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जान पाएनन् ।
एन्फाले उनीहरुलाई कारवाही गरेर टिमबाट हटाएको हो । तर खेलाडीमाथि अनुशासनको कारवाही गर्ने एन्फाका पदाधिकारीहरुमाथि नै शंका उब्जिएको छ ।

एन्फाका केही जिल्ला संघहरुले पदाधिकारीमाथि शंका गर्दै पत्र लेखेका हुन् । काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ्गका जिल्ला फुटबल संघ अध्यक्षहरुले संयुक्त पत्र लेखेका हुन्।

उनीहरुले पत्रमा लेखेका छन्, ‘विश्वकप छनौटका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु रातको समयमा होस्टेल बाहिर गई मदिरा सेवन तथा अन्य क्रियाकलापमा सहभागी भएको घटनाले दुःखी बनाएको छ । विश्वकप छनौट जस्तो महत्वपूर्ण समयमा खेलाडीहरु रातको समयमा होस्टेल बाहिर हुनु, उनीहरुलाई स्पष्टिकरण बिना तत्काल कारवाही गरिनु साथै सो टिमका व्यवस्थापक तथा सरोकारवालाहरुलाई सोधपुछ समेत नगरिनु आफैमा आश्चर्यजनक रहेको छ।’
जिल्ला फुटबल संघ काठमाडौँका अध्यक्ष विराट जंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुरका अध्यक्ष गौतम सुजखु र धादिङ्गका अध्यक्ष दीपक खतिवडाले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ, ‘यो विषयलाई लिएर सरोकारवाला तथा सञ्चारमाध्यममा म्याच फिक्सिङ्ग जस्तो गम्भीर आरोपहरु उब्जिएको हुँदा एन्फाले सो विषयमा प्रशिक्षक, टिम व्यवस्थापक तथा होस्टेलका जिम्मेवार व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याउनुले एन्फाका जिम्मेवार पदाधिकारी नै यसमा संलग्न भएको हो कि भन्ने जस्तो देखिएको छ । यसले गर्दा एन्फाले आफ्नो धारणा स्पष्ट पार्नु पर्छ।’
पत्रमा उल्लेख छ, ‘एकातर्फ नेपाली भूमिमा विश्वकप छनौट खेल हुन नसक्नु अर्कोतर्फ खेलाडी यस प्रकारका गलत गतिविधिमा भेटिनु जस्ता कार्यले नेपाली फुटबल झनै बदनाम हुनु अत्यन्तै दुःखद हो । यस प्रकारको गम्भीर निर्णय र अवस्थामा एन्फाका जिम्मेवार व्यक्तिहरु मौन बस्नुलाई सामान्य मान्न सकिँदैन । तसर्थ एन्फाले आफ्नो धारणा स्पष्ट पार्नु पर्छ र खेलाडीसँगै अरु जिम्मेवार व्यक्ति तथा पक्षलाई पनि कारवाही गर्नु पर्छ।’

प्रकाशित मिति : ३ मंसिर २०७६ मंगलबार ००:००  २ : २४ बजे