२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

१६ औं अन्तराष्ट्रिय स्वयम् सेविका दिवस विजयनगरमा मनाइयो



राम प्रघट कोरी, विजयनगर ।
विजयनगर गाउँपालिकाको आयोजना र ज्ञानपुञ्ज तथा सिमाना महिला बचत तथा ऋण सहकारी संस्थाको सह–आयोजनामा आज लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत “गाउँ नगरमा महिला स्वयम् सेविका,स्वास्थ्य प्रवद्र्धनमा अहम भूमिका” भन्ने नाराका साथ १६ औं अन्तराष्ट्रिय स्वयम् सेविका दिवस मनाइएको छ ।
गाउँपालिकाको वडा नं.५ पिपरीमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले आफ्नो अनुकूलता खोज्दा हिंसा, दमन हुने भएकोले सबैलाई समान रुपमा व्यवहार गर्ने हो भने लैंगिक हिंसा नहुने बताउदै लैंगिक हिंसा अन्त्य गर्न आफु घरबाटै सुरुवात गर्ने कुरामा जोड दिनु भयो ।
कतिपय अवस्थामा महिला मात्रै नभएर पुरुष पनि लैंगिक हिंसाबाट पिडित रहेका हुँदा महिलाले पनि यस कुरामा ध्यान राखी हिंसारहित व्यवहार गर्न थापाले बताउनु भयो । महिलालाई बढी प्राथमिकतामा राखेर महिला उत्थानका लागि विभिन्न योजना समेत बनाएको अध्यक्ष थापाले जानकारी गराउनु भएको थियो ।
यस्तै कार्यक्रमलाई सम्बोदन गर्दै भैरहवा युनिसेफका फिल्ड अधिकृत शिव सुबेदीले १६ औं अन्र्तराष्ट्रिय स्वयम् सेविका दिवसको अवसरमा खोपबाट छुटेका बच्चालाई खोप लगाउन अनुरोध गर्नु भएको छ । उहाले आम नागरिकका जानकारीका लागि विद्यालय, समुदाय र सञ्चार माध्यमहरुबाट समेत सूचना दिन बताउनु भयो ।
सबैले खोप सुदृढीकरणका लागि हातेमालो गर्दै अनुगमनको साथै आवश्यक कुराको सहयोग गर्ने सुवेदीले प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा आफ्नो कुरा राख्दै विजयनगर स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले गाउँपालिकाको विभिन्न क्षेत्रमा महिला स्वयम् सेविकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
महिला स्वयम् सेविकाले गर्भवती सुत्केरी र बालबालिकाहरुको हेरचाहमा उल्लेखनीय योगदान पु¥याएको बताउनु भएको थियो । उत्कृष्ट कार्य गरेका ७ जना स्वयम् सेविका महिलालाई गाउँपालिका अध्यक्षले पुरस्कार तथा सम्मान गर्नु भएको छ ।
कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले कार्यलाई समापन गर्दै आफ्नो घर आफै हिंसामुक्त गराउन सबै परिवारलाई समान दृष्टिकोणले हेर्ने हो भने लैंगिक हिंसाको अन्त्य हुने बताउनु भएको छ । उहाँले हिंसा गर्ने जो कोही विरुद्ध सबैले आवाज उठाउने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा ज्ञानपुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष प्रमिला पौडेलको स्वागत मन्तव्य र सिमाना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कमला गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७६ शुक्रबार ००:००  ९ : १३ बजे