८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लक डाउनको असर आमाको मुख हेर्ने दिनमा पनि



काठमाण्डौँ ।

संसारभरि महामारीको उग्र रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९) ले विश्वको हरेक राष्ट्रको जनजीवनमा असर पारे जस्तै नेपाली सांस्कृतिक जीवनमा पनि असर पारिरहेको छ । भाइरसको सङ्क्रमण थप हुन नदिन गरिएको लकडाउनका कारण विक्रम सम्वतको वैशाख कृष्ण अमावाश्य ९औँसी० को दिन मनाइने मातृ औँसी ९आमाको मुख हेर्ने दिन० पनि प्रभावित बनेको छ ।

हरेक वर्ष चन्द्रागिरि नगरपालिका ६ मा रहेको मातातीर्थ कुण्डमा आजकै दिन मेला लाग्ने गर्दथ्यो । यस वर्ष भने सार्वजनिक गतिविधि एवं आवागमनलाई नियन्त्रण गर्नको लागि चन्द्रागिरि नगरपालिका ६ को कार्यालयले मातातीर्थ औंसी मेला स्थगित गरिएकोे सूचना प्रकाशित गरेको छ ।

त्यसैगरी लकडाउनको समयमा ब्राह्मण कहाँ गइ पूजापाठ एवं दान गर्न अनुचित भएको हुनाले पुरोहित ओमधर राजोपाध्याय ९कान्छा बाज्या० ले सम्पूर्ण भक्तपुर जिल्ला अन्तर्गत मध्यपुर थिमिको बोडेबासीलाई ब्राह्मणलाई दान एवं उपहार नदिइ आफ्ना घरमै बसी कुकुर अथवा कागलाई भोजन गराइ यस वर्षको मातृ औंसी मनाउन अनुरोध गर्नुभएको छ ।

नास्तिमातृसमा छाया नास्तिमातृसमागतिः ।
नास्तिमातृसमं त्राणं नास्तिमातृसमाप्रपा ।।

माथिको श्लोक स्कन्ड पुराणबाट उद्धरण गरिएको हो, जसको तात्पर्य हुन्छ– माताको जस्तो कुनै पनि छाया छैन, कुनै पनि आश्रय छैन र कुनै पनि सुरक्षा छैन । माताको जस्तो यो संसारमा कुनै पनि जीवनदाता छैन ।

९ महिना आमाले सन्तानलाई आफ्नो कोखमा राखी दुःख–पीडा भोगेर जन्माउँछिन् । आफ्ना सन्तानका लागि आमाले फोहर र दुर्गन्धको परवाह नगरि पालनपोषण गर्छिन् । प्रत्येक सन्तानले संस्कार आफ्नो घरबाट सिक्छन् र संस्कार सिकाउन आमाको महत्वपूर्ण योगदान हुन्छ । जब सन्तान अस्वस्थ हुन्छ, तब सन्तानले सर्वप्रथम आमालाई नै खोज्छन् र आमाले पनि निःस्वार्थपूर्वक आफ्नो सन्तानको स्याहारसुसार गर्छिन् । तसर्थ आमा नै सन्तानका लागि पहिलो अभिभावक, शिक्षक एवं रक्षक हुन्छिन् । तिनै महान् आमाप्रति प्रेम एवं भक्तिभाव दर्शाउन हरेक वर्ष वैशाख कृष्ण औंसीका दिन मातृऔँसी मनाइने गरिएको छ ।

हरेक वर्ष वैशाख कृष्ण औंसीका दिन आमाको निधन भएका सन्तानहरुले काठमाण्डौको चन्द्रागिरि नगरपालिका ६ मा रहेको मातातीर्थ कुण्डमा गएर नुहाएर श्राद्ध गरी आफ्ना आमाहरुका लागि खानेकुरा चढाउने गर्छन । त्यसदिन मातातीर्थ कुण्डमा गएर नुहाएर श्राद्ध गर्नाले वा ब्राह्मणहरुलाई दान दिनाले उनीहरुका आमाले खान पाउँछिन् भन्ने विश्वास गरिदैँ आएको छ । मातातीर्थ कुण्डमा आफ्नी आमाको प्रतिबिम्ब देखिन्छ भन्ने विश्वास पनि गरिन्छ । मातातीर्थ कुण्डमा जान नभ्याउनेहरुले पनि घरमा नै आमालाई सम्झन्छन् र आमाको लागि खानेकुरा तयार गरेर आ–आफ्ना पुरोहितलाई दान गर्छन् । त्यस दिन आमा हुनेहरु मातातीर्थ कुण्ड नजाने चलन चलिआएको छ ।

मातातीर्थ कुण्डसम्बन्धी दुई वटा किवंदन्तीहरु छन् । भक्तपुरका लीलाभक्त मुनंकर्मीद्वारा लिखित ‘नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन’ मा उल्लेख गरिए अनुसार परापूर्वकालमा मातातीर्थमा अहिलेको जस्तो कुनै पनि प्रकारको कुण्ड अथवा पोखरी थिएन । अहिले कुण्ड भएको स्थानसम्म भूमि थियो, जहाँ गोठालाहरुले आफ्नो गाईवस्तु चराउँथे । त्यस स्थानमा खाएको खाजा फ्याँकेको केही समयमै विलुप्त हुन्थ्यो, जसको कारण केटाकेटीहरु उत्साहित भएर आफ्ना खानेकुरा नखाइकनै त्यस ठाउँमा फाल्न जाने गर्न थाले । पछि केटाकेटीहरुको क्रियाकलापका बारेमा तिनका आमाबुवाहरुलाई थाहा भयो । उनीहरुले त्यस चमत्कारी स्थानमा गएर अनुसन्धान गरेर फ्याँकेको खानेकुराहरु विलुप्त भएको कारण मातृहीन सन्तानहरुले चढाएका खानेकुराहरु तिनका आमाले खाने गरेको कुरा पत्ता लगाए । त्यस स्थानको यस प्रकारको विशेषता स्थानीयले पत्ता लगाइसकेपछि त्यहाँ सरसफाइ गरेर पोखरी खनियो । त्यही स्थान वर्तमान समयमा ‘मातातीर्थ कुण्ड’का नाममा प्रसिद्ध छ ।

त्यसैगरी अर्को किवंदन्ती अनुसार गाईवस्तु चराउने एक गोठालाकी आमाको मृत्यु भएछ । आमाको मृत्युको वियोगमा दुःखी भइरहेको त्यस गोठालाले एकदिन आमाको सम्झनामा एक कचौरा भात नजिकैको कुण्डमा चढाइदिएछ । त्यस कुण्डबाट साँच्चिकै उनकी दिवङ्गत आमा निस्केर छोराले चढाएको एक कचौरा भात खाइछन् । त्यस अचम्मित घटनाका बारेमा सबैलाई जानकारी भयो । त्यस घटनापछि आमाको देहान्त भइसकेका सन्तानहरुले त्यस कुण्डमा गएर आमाको निमित्त आमाले मन पराउने खानेकुरा चढाउन थाले र मृृत्यु भइसकेकी आमाहरु निस्केर हात थापेर चढाएको खानेकुरा स्वीकार्ने गरे । यसरी त्यस कुण्डको नाम ‘मातातीर्थ’ रहन गयो । यसदिन त्यहाँ गएर नुहाएर श्राद्ध गरेमा आफूले चढाएका खानेकुराहरु आफ्नी आमाले खान पाउँछिन् भन्ने मान्यता रहेको हुनाले मातातीर्थमा आमाको मृत्यु भइसकेका सन्तानहरु हरेक वर्ष बैशाख कृष्ण औंसीका दिन मातातीर्थ पुग्ने गर्छन् ।

आमा हुने छोराछोरीहरुले यसदिन भक्तिभावपूर्वक मिठाइ, फलफुल, दही इत्यादि अर्पित गर्दै पूजा गरेर पाउ ढोग्छन् । समय परिस्थिति परिवर्तित भइसकेकाले व्यस्त जीवनशैली भएता पनि त्यस दिन सन्तानहरुले आमाका लागि समय निकाल्छन् । अहिले विज्ञान तथा प्रविधिको युगमा आमा आफ्ना निकट नभएता पनि बिदेसिएका सन्तानहरुले प्रविधिको माध्यमले आफ्नी आमाको दर्शन एवं सम्मान गर्ने गरेका छन् । कम उमेरका सन्तानहरुले पनि आफ्नी आमालाई यस दिन उपहार दिन पैसा सङ्कलन गरेका हुन्छन् ।

आजभोलि यस दिन आफ्नी आमासँग फोटो खिचाएर सामाजिक सञ्जालहरु जस्तै फेसबुक, इन्स्टाग्राम इत्यादिमा राख्ने गरेका छन् । आमा जीवित भएकाहरुले मातृ औंसीका दिननुहाउन नहुने जनमानसमा विश्वास रहेको छ ।
उज्यालोबाट साभार ।

प्रकाशित मिति : ११ बैशाख २०७७ बिहिबार ००:००  १० : ३० बजे