विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकामा करिब ३ महिनाअघि भएको बलात्कार घटनामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सामूहिक बलात्कारमा संलग्न चारजनालाई बुढीगंगा गाँउपालिकाबाट बुधबार पक्राउ गरिएको हो।
प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार पक्राउ पर्नेमा स्थानीय २० वर्षीय कुमार राई, १९ वर्षीय सन्देश लिम्बू, किशोर राई र लक्ष्मण राई रहेका छन् । राईका अनुसार घटनमा संलग्न अर्का एक आरोपी रोशन मगर भने फरार रहेका छन्।
उनीहरुले भैरहवा घर भई बुढीगंगास्थित आफन्तको घरमा आएकी १७ वर्षीया एक किशोरीलाई गत वर्ष माघ महिनामा बलात्कार गरेको खुलेको छ।
प्रहरी नायब उपरीक्षक राईले भने, ‘माघको १५ गते पाँचजनाले सामूहिक रुपमा कक्षा ८ मा अध्ययनरत किशोरीको बलात्कार गरेको खुलेको छ ।
वास्तविक कुरा बुझ्ने क्रममा लगभग तीन महिनाअघि किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाका बारेमा खुल्यो’ प्रहरी नायब उपरीक्षक राईले भने, ‘त्यसपछि घटनामा संलग्न मध्ये चारजनालाई पक्राउ गरियो । फरार रहेका अर्का एक युवाको खोजी भइरहेको छ ।’
प्रहरीका अनुसार किशोरीका बुवाको यसअघि नै निधन भइसकेको र आमा एकवर्ष अघि वैदेशिक रोजगारीका लागि कुवेत गएकी थिइन् ।
अभिभावकका रुपमा किशोरीले घरमा ८ र १२ वर्षका बहिनीको रेखदेख गर्दै आएकी थिइन्। त्यसैगरि, पक्राउ परेका चारैजनाविरुद्ध प्रहरीले जवरजस्ती करणी मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाउने जनाएको छ।







प्रतिक्रिया