१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

सुनचाँदीको कारोबार उत्साहजनक छैनः व्यवसायी



 

काठमाडौं, असोज ३१ । तिहार सुरु भएपनि यो वर्ष सुनचाँदीको कारोबार उत्साहजनक नभएको व्यवसायीले बताएका छन् । गएका वर्षहरुमा तिहार सुरु हुनु एक हप्ताअघि दैनिक ४० देखि ४५ किलोसम्म सुनको कारोबार हुने गरेको सुन यो वर्ष दैनिक ३५ किलोसम्म मात्र कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
यस्तै चाँदी दैनिक ५ सय किलोसम्म कारोबार हुने गरेकोमा यो वर्ष ४ सय किलोभन्दा धेरै कारोबार हुन नसकेको उहाँले जानकारी दिनुभयो । तर मंगलबार धन्तेरस परेकाले सुनचाँदीको कारोबार बढ्ने उहाँको अनुमान छ । शाक्यका अनुसार ९९ प्रतिशत मानिसले मंगलबार किनेको सुनचाँदी लक्ष्मीपूजाको दिन चढाउने परम्परा छ । मंगलबार पित्तल र तामाको पनि कारोबार हुने उहाँले जानकारी दिनुभयो ।
यसैबिच सुनको भाउ मंगलबार तोलामा एक सय रुपैयाँ घटेर तोलाको ५६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ भने गएको बिहीबारदेखि कुनै घटबढ भएको छैन । चाँदी आजपनि तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७४ मंगलबार ००:००  ६ : ३६ बजे