८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

जेठ २५ भित्रै कर बुझाउन राजस्व विभागको ताकेता



काठमाडौं ।
सरकारले पछिल्लो पटक थप गरिएको म्याद जेठ २५ गतेभित्रै कर बुझाउन ताकेता गरेको छ ।
कोरोना सङ्क्रमणको जोखिमका कारण लकडाउन गरेको सरकारले कर भुक्तानी तोकिएकै मितिमा गर्न अनुरोध गर्दै सार्वजनिक सूचना निकालेको हो ।

आन्तरिक राजस्व विभागले निकालेको सूचनाअनुसार २०७६ साल फागुन र चैत महिनाको कर विवरण, माघ र फागुनको द्विमासिक र मंसिरदेखि फागुनको चौमासिक कर विवरण तथा विवरण अनुसारको कर जेठ २५ गतेसम्म बुझाउनुपर्नेछ ।

फागुन र चैत महिनाको शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क तथा दुरसञ्चार सेवा दस्तुर पनि जेठ २५ गतेसम्म बुझाउन भनिएको छ ।

त्यस्तै २०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम जेठ मसान्तसम्म दाखिला गर्नुपर्नेछ।

पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउन बढाएको सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भूक्तानी गर्न भनेको हो । आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर बुझाएर शुल्क, थप दस्तुर, ब्याज र जरिवाना नलाग्ने पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७ मंगलबार ००:००  २ : ११ बजे