२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

रिसायो दक्षिणसंग उत्तर कोरिया, सबै सञ्चार सम्पर्क बन्द गरेको घोषणा



एजेन्सी ।
उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै सञ्चार सम्पर्क बन्द गरेको बताएको छ । यसमा दुवै देशका नेताहरुबीचको हटलाइन पनि समावेश छ । दक्षिण कोरियालाई शत्रु बताउँदै उत्तर कोरियाले यो पहिलो कारबाही भएको जनाएको छ ।

उत्तर कोरियाको सीमामा रहेको शहर कएसोङ्गमा बनाइएको सम्पर्क कार्यालय पनि मङ्गलबारदेखि बन्द गरिँदैछ । सन् २०१८ मा वार्तापछि दुवै देशबीच तनाव कम गर्नको लागि यो कार्यालय स्थापना गरिएको थियो ।

सन् १९५३ मा कोरियाली युद्ध समाप्त भएपछि दुवै देशबीच शान्ति सम्झौता भएको छैन, यस कारण अझै पनि दुवै देश प्राविधिक रुपमा युद्धको अवस्थामा छन् ।

उत्तर कोरियाको सरकारी न्युज एजेन्सी कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले भनेको छ, ‘उत्तर र दक्षिण कोरियाबीच स्थापित गरिएको सम्पर्क लाइन पूर्णरुपमा टुट्दैछ र बन्द हुँदैछ, जसलाई उत्तर–दक्षिण कोरियाले संयुक्त कार्यालयको माध्यमबाट स्थापना गरेका थिए । यो कार्यालय सन् २०२० जुन ९ मध्याह्न १२ बजे बन्द गरिँदैछ । ‘

उत्तर कोरियाले सैन्य सञ्चार च्यानल पनि बन्द गरिने जनाएको छ ।

कोभिड–१९ महामारीको कारण लागू गरिएको प्रतिबन्धको कारण सम्पर्क कार्यालय जनवरीमा अस्थाइ रुपमा बन्द गरिएको थियो । यद्यपि दुई देशबीच फोनको माध्यमबाट भने सम्पर्क भइरहेको थियो ।

दुई देशबीच कार्यालयबाट बिहान ९ बजे र साँझ ५ बजे दुईचोटि फोन हुने गरेको थियो ।

सोमबार दक्षिण कोरियाले २१ महिनामा पहिलो पटक बिहानको फोनको जवाफ नआएको बताएको थियो त दिउँसो भने सम्पर्क भएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७ मंगलबार ००:००  २ : ५२ बजे