२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

आर्थिक सङ्कटमा किन कर्मचारी बैठक भत्ता शीर्षकमा रु २१ लाख ?



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले –कोभिड–१९ का कारण अस्तव्यस्त भएको मुलुकको शिक्षा, स्वास्थ्य र अर्थतन्त्रलाई माथि उठाउने गरी नीति तथा योजना आवश्यक रहेको बताएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत बिभिन्न मन्त्रालयमाथिको छलफलमा भाग लिँदै उनीहरुले सरकारले ल्याएको बजेटले प्रभावित क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताए ।

छलफलमा भाग लिँदै काँग्रेसका जीतेन्द्रनारायण देवले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक सङ्कटको वर्तमान समयमा पनि कर्मचारी बैठक भत्ता शीर्षकमा रु २१ लाख विनियोजन गरेकामा आलोचना गरेका छन ।

बैठकमा उनले विनियोजन विधेयक, २०७७ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमाथि उनले खर्च कटौतीको प्रस्ताव गरेका छन ।

त्यस्तै काँग्रेसकै सांसद प्रकाश पन्थले कोरोनाले विद्यालय शिक्षा अन्यौलग्रस्त भएको तथा प्राविधिक शिक्षासमेत प्रभावित भएको उल्लेख गरे ।

विनियोजन विधेयक २०७७ माथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डा. वेदूराम भुसालले कोभिड –१९ को महामारीको समयमा आएको मुलुकको बजेट समग्रमा सन्तुलित र मार्गनिर्देश दिने खालका विषय परे पनि संस्कृति रुपान्तरण गर्ने कार्यक्रम नरहेको बताए ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ५ : ४५ बजे