मणि प्रसाद गैह्रे, तौलिहवा ।
कोभिड–१९ को महामारी नियन्त्रण गर्न र रोकथाम गर्न सरकार पूर्णतया असफल भएको भन्दै कांग्रेस कपिलवस्तुले सडकबाटै खबरदारी गरेको छ । सरकारको गैर जिम्मेवारी, अकर्मण्यता र असक्षमताले गर्दा बिपक्षी दलहरुको साथ हुँदा हुँदै कोरोना फैलाएको कांग्रेसको आरोप छ ।
कांग्रेस कपिलवस्तुले तौलिहवास्थित प्रशासन कार्यालयमा बिशेष ज्ञापनपत्र बुझाउदै सो आरोप लगाएको हो । ज्ञापनपत्र बुझाउदै कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले मुलुक रोग र भोकमा फसेको बेला सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा लिप्त बनेको आरोप लगाए ।
‘कोरोनाको संक्रमणले बिकराल रुप लिएको छ । यस्तो अवस्थामा पनि सरकार भ्रष्ट्राचारमा लागेको छ’ सभापति आचार्यले भने, ‘देश र जनतालाई विपद्बाट सुरक्षित राख्न सरकार पूर्ण रुपमा असफल भएको छ ।’ राष्ट्रिय विपद्को अवस्थामा पनि स्वास्थ्य सामग्री खरीदमा पटकपटक अनियमितता तथा भ्रष्टाचार भएको घटनाले सबै नागरिकलाई स्तब्ध बनाएको र कमिसनको कारणले सामग्री आपूर्तिमा समेत ढिलो भएको उनले बताए ।
सरकारले दश अर्ब खर्च भएको भने पनि सो अनुसार काम नभएको उनले बताए । नागरिकको जीवनमा आएको आर्थिक संकटलाई कम गर्न सरकार गम्भीर नभएको आचार्यले बताए । कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले सरकारलाई सच्चीन आग्रह गरेको छ ।
पार्टीले आरडिटी परिक्षण बन्द गरी दक्ष जनशक्ति र पर्याप्त स्वास्थ्य सामग्री सहीत पीसीआरको दायरा बढाउनु पर्ने, मापदण्ड अनुसार क्वारेन्टाइनको व्यवस्थापन गरी क्वारेन्टाइन सञ्चालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधि स्रोत उपलब्ध गराउनुपर्ने, क्वारेन्टाइनमा राखिएका सबैलाई पीसीआर विधिबाट परीक्षण गरेपश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाब परीक्षण गर्ने र आइसोलेशनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्नुपर्ने माग राखिएको छ ।
सरकारको ध्यानाकर्षण गराउन विशेष ज्ञापनपत्र बुझाईएको कांग्रेस नेता दीप कुमार उपाध्यायले बताए । १० अर्ब खर्च भएको भनिरहेकोले खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने, हालसालै स्वास्थ्य सामग्री खरीदा अनियमितता भएको विषय सार्वजनिक भएकोले सबै भ्रष्ट्राचार, अनियमितताबारे छानबीन गरी तत्काल सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने माग राखिएको छ ।
बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्याउनुपर्ने, साना, ठूला उद्योग, व्यापार, व्यवस्थाको संरक्षण र तमाम श्रमिक मजदुर उद्यमीहरुको सहयोगलाई उच्च प्राथमिकतामा राखी ठोस राहत प्याकेजको घोषणा गर्नुपर्ने कांग्रेसको माग छ ।
देशमा व्यापक रुपमा बढिरहेको भ्रष्टाचार न्युनिकरण गर्न, अन्यायमा परेका पिडितहरुलाई न्याय दिलाउन, बलात्कारका घटनाहरु न्युनिकरणमा ध्यान दिन, दोषिहरुलाई कारवाही गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै कपिलवसतुकमा प्रमुख जिल्ला अधिकारी पौडेलले ज्ञापनपत्रलाई प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । तौहिलवा स्थित पार्टी कार्यालयबार्ट कार्यालयबाट सुरु भएको र्याली प्रशासन चोक पुगेका थियो ।
र्यालीमा सहभागि नेता कार्यकर्ताहरुले बांच्नेहरुमा हाहाकार, मृत्युपछि पीसीआर, माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको सरकार भ्रष्टाचारमा व्यस्त छ, आरडिटी खारेज गर, पीसीआरको दायरा बढाउ लगायतका नारा लगाएका थिए ।
पार्टीका सभापति आचार्य सहित सचिव महेन्द्र पाठक, प्रदेश सांसद रिना नेपाल, पूर्व मन्त्री दीप कुमार उपाध्याय, पुर्व पार्टी सभापति राजेश आचार्य, कोषाध्यक्ष शोहरत तेली, नेपाल तरुण दलका जिल्ला सभापति शाक्ति सिहं ठाकुरी, नेपाल विद्यार्थी संघका राकेश पाण्डेय, चन्द्रकान्त पोखरेल, राजेश ज्ञवाली, प्रकाश घिमिरे, नेता आजय थापा, देबेन्द्र पाण्डेय, अनुप कुमार पाण्डेय लगायतको सहभागीता रहेको थियो ।







प्रतिक्रिया