मायादेवी अनलाइन, चार नम्बर ।
प्रदेश सांसद विष्णु पन्थीले सामाजिक विकास मन्त्रालयको विनियोजित बजेटमा प्रशंसा, सुझाव, गुनासा र जिज्ञासा राख्दै कपिलवस्तुको विकासमा पर्याप्त कार्यक्रम ल्याउन जोड दिनुभएको छ । प्रदेश सरकारले भौतिक पूर्वाधार पछि दोश्रो ठुलो सामाजिक विकासको क्षेत्रमा बढि बजेट विनियोजन गरेकोमा धन्यवाद दिदैँ जिल्लाको सामाजिक क्षेत्रका महत्वपूर्ण योजनालाई प्राथमिकता दिनुपर्ने सांसद पन्थीले बताउनुभयो । कपिलवस्तुबाट निर्वाचित सांसद पन्थीले प्रादेशिक तथा जिल्ला स्तरको भौतिक पूर्वाधार र स्वास्थ्य संरचनाहरुको सेवा विस्तारको लागि बजेट विनियोजन भएकोमा प्रशंसा समेत गर्नुभयो ।
कपिलवस्तुको शिवराजमा सरुवा अस्पताललाई जनरल अस्पतालको रुपमा विकास गरेर बृहत सेवा दिनुपर्ने सुझाव दिनुभयो । सामुदायिक विद्यालय पूर्वाधार कार्यक्रम आएको छ, यस कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तरमा अवश्य नै मद्धत पुग्ने बताउदै दक्षिणी सिमामा रहेका सामुदायिक विद्यालयहरुको न्यून पूर्वाधार रहेकाले सिमा क्षेत्रको शैक्षिक तथा पूर्वाधार विकासमा केन्द्रित गर्नुपर्नेमा साँसद पन्थीले जोड दिनुभएको छ ।
प्रदेश सरकारले प्रदेश विश्व विद्यालयको निती अनुसार कृषि र इन्जिनियरिङ्ग विषयलाई प्राथमिकता दिएको छ । प्राविधिक धार तर्फको कृषि र इन्जिनियरिङ्ग विषय संचालनका लागि पर्याप्त पूर्वाधार भएको गौतमबुद्ध क्याम्पस तथा कपिलवस्तु बहुमुखी क्याम्पसमा उपयुक्त हुने साँसद पन्थीले जिकिर गर्नुभयो ।
अपांग, एकल महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा पछाडी परेको बर्गको विकासमा कार्यक्रम आएको छ खुशीको कुरा हो । लक्षित वर्गको विकासमा ठुलो रकम विगतमा पनि छुट्टीएको र यसवर्षपनि निरन्तरता दिएकाले रोजगारी सिर्जना हुनेगरी तालिमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले तालिमहरु विभिन्न मन्त्रालयले पनि संचालन गर्ने भएकाले मन्त्रालयबीचको डुप्लीकेशन अन्त्य गर्दै ठोस रुपमा स्वरोजगार तथा रोजगारी सिर्जना गर्ने तर्फ केन्द्रित गर्दै तालिमलाई उपलब्धीमुलक बनाउन साँसद पन्थीले सुझाव दिनुभएको छ । विपद् व्यवस्थापनको लागि शैक्षिक कार्यक्रम भनेर बजेट विनियोजन भएपनि यसको स्पष्ट कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा महिला छात्रावासको लागि बजेट आएको छ, उक्त बजेट अभाव छ । छात्राबासको अवधारणामा काम गर्ने मन्त्रालयको निति तथा कार्यक्रम अनुसार बजेट अभाव भएकालाई पूर्णता दिएर यही कार्यक्रमबाट समेटेर जानुपर्ने बताउनुभयो । मुस्लिमका अलवा अन्य पछाडी परेका बर्गको लागि पनि छात्रावास संचालन गर्नुपर्ने सुझाव दिनुभयो । सामुदायिक क्याम्पस र विद्यालयहरुमा गुणस्तरीय बृद्धि गर्नका लागि ध्यानाकर्षण गराउनुभएको छ । प्रदेशमै नाम कमाएको सिद्धार्थ क्याम्पसको भौतिक पूर्वाधारको लागि आवश्यक बजेट तथा कार्यक्रम समावेश गरिनुपर्ने बताउनुभयो ।
कपिलवस्तुमा महत्वपूर्ण २ रंगाशाला निर्माणको क्रममा छन् । विगतमा पनि प्रदेश स्तरीय खेलकुद संचालन भएका वाणगंगाको बुद्धरंगशाला र मायादेवी रंगशालाको स्तरबृद्धिको लागि यही बजेटबाट समावेश गर्नुपर्ने साँसद पन्थीले जोड दिनुभयो ।
विगतका वर्षदेखि नै लगातार जिपि मेमोरियलको लागि जग्गा व्यवस्थापनको अभाव हुदै आएको थियो तर हाल जग्गाको व्यवस्थापन भइसकेकोले प्रदेश सरकारको कार्यक्रम तथा बजेटमा जिपि मेमोरियल इष्टिच्युट कार्यक्रम छुटेकाले अविलम्ब समावेश गर्नुपर्ने सुझाव दिनुभयो ।
त्यस्तै वाणगंगामा ब्लड वैंकको निर्माण भएको छ । त्यसका लागि आवश्यक औजार उपकरणको व्यवस्था माग गर्नुपर्ने र पिपरा अस्पताल पूर्व पश्चिम राजमार्गमा पर्ने भएकाले यसको सेवा विस्तार गर्दै ट्रमा सेन्टरको रुपमा विकास गर्न आवश्यक भएको जोड दिनुभयो ।
स्वास्थ्य सेवालाई प्रदेशमा राम्रो व्यवस्थापन गर्नुपर्ने बताउदै सरकारी तथा सामुदायिक अस्पतालको सेवा विस्तार तथा सहयोगको कार्यक्रम समावेश नभएकोले यसतर्फ ध्यान पु¥याउनु पर्ने बताउनुभयो । मुटुरोगको सेवा दिइरहेको गौतमबुद्ध अस्पताललाई पनि स्तरबृद्धिको लागि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रदेशबाट वाहिर जान नपर्ने गरी स्वास्थ्य सेवा र विस्तारमा कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया