एजेन्सी ।
विश्वभर एकै दिन झण्डै २ लाख कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ८ सय ५३ जनामा नयाँ संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै अमेरिकामा मात्रै ५० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् । ब्राजिलमा झण्डै ४५ हजारमा, भारतमा १९ हजार ४ सय, रसियामा ६ हजार ५ सय, मेक्सिकोमा ५ हजार ४ सय, पाकिस्तानमा ४ हजार १ सय, पेरुमा ३ हजार जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ब्राजिलमा १ हजार ५७ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या ६० हजार ७ सय १३ पुगेको छ ।
अमेरिकामा हिजो ६ सय ६७, मेक्सिकोमा ६ सय ४८, भारतमा ४ सय ३८, रसियामा २ सय १६, बेलायतमा १ सय ७६, पेरुमा १ सय ८३ र पाकिस्तानमा ९१ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८ लाख नजिक पुगेको छ । मृतकको संख्या ५ लाख १८ हजार नाघेको छ भने ५९ लाख ३० हजार संक्रमित उपचारपछि निको भएका छन् ।
यसैबीच, वेलायतको अक्सफोर्ड विश्वविद्यालयमा परीक्षणका क्रममा रहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनले सकारात्मक नतिजा दिइरहेको जनाइएको छ । बेलायतको एक संसदीय सुनुवाइका क्रममा सरकारी कमिटीका प्रतिनिधिले परीक्षणको नतिजाले नयाँ आशा जगाएको उल्लेख गरेका हुन् । यो परीक्षण क्लिनिकल रुपमा तेस्रो चरणमा पुगेको बीबीसीले जनाएको छ । यो भ्याक्सिनको भविष्य परीक्षणको नतिजासँग जोडिएकाले कहिलेसम्म प्रयोगमा आउँछ भन्नेबारे खुलाइएको छैन ।







प्रतिक्रिया