८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

भारतमा भदौ १५ सम्म लकडाउन, सङ्क्रमित धेरै भएका ठाउँमा मात्र



एजेन्सी । भारतले कोरोना सङ्क्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ ।चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा ३१ अगष्ट अर्थात भदौ १५ गतेसम्म नै लकडाउन लम्ब्याउने तर सङ्क्रमित कम भएका ठाउँमा खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।

जसअनुसार अब रात्रीकालीन कर्फ्यु हटाउने निर्णय भएको छ । यस्तै जीम र योग संस्था खोल्ने निर्णय भएको छ । तर अझै पनि ठूलो संख्यामा जमघट गर्न प्रतिबन्ध छ ।शिक्षण संस्था, सिनेमा हल, स्वीमिङ पुल, मनोरञ्जन पार्क, बार लगायत जमघट हुने ठाउँ अगष्ट ३१ तारिखसम्मै बन्द हुनेछन् । त्यहाँको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई यात्रा सीमित गर्ने निर्णय पनि गरेको छ ।

राजनीतिक, सामाजिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक र धार्मिक समारोह भने अगष्ट ३१ सम्म गर्न पाइने छैन । भारतमा दैनिकजसो ५० हजारको संख्यामा नयाँ सङ्क्रमित भेटिन थालेका छन् भने ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ ।त्यहाँ गएको २४ घण्टामा मात्रै ५२ हजार २ सय ४९ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या १५ लाख ८४ हजार नाघेको छ । ३५ हजारको ज्यान गएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७ बिहिबार ००:००  ९ : ०० बजे