८ असार २०८३, सोमबार | Mon Jun 22 2026

विप्लव नेता प्रेम लामा पक्राउ



काठमाडौं ।

नेत्रविक्रम चन्द नेतृत्व समूहका जिल्ला नेता प्रेम लामा भनिने ३३ वर्षीय प्रशान्तकुमार मोक्तानलाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ।

रोशी गाउँपालिका–५ शिसाखानी छाप निवासी मोक्तानलाई भक्तपुरको सूर्यविनायकस्थित लक्ष्मीमार्गबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार मोक्तानलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हीत, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र ब्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्धा दर्ता भई शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरिएको जानकारी दिए।

यसअघि, गत जेठ १४ गते सो समूहका नेता लेखराज गजमेर धुलिखेलबाटै गिरफ्तार भएका थिए।

त्यतिबेला गजमेरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलले थुनामुक्त गरेलगत्तै सादा पोशाकका प्रहरीले पुनःगिरफ्तार गरी काठमाडौँ लगेका थिए। सङ्गठित अपराधअन्तर्गत विस्फोटक पदार्थ मुद्दामा केही महिनाअघि पक्राउ परेका गजमेर सर्वोच्च अदालतको आदेशमा थुनामुक्त गर्न आदेश दिएकै दिन जिल्ला प्रहरी कार्यालयको अघिल्तिरबाट पुनः गिरफ्तार भएका थिए।

रासस

प्रकाशित मिति : २४ श्रावण २०७७ शनिबार ००:००  ११ : ५८ बजे