६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मंगलबारसम्म पानी पर्ने



काठमाडौं ।

मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजिक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ।

मंगलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जनाइएको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने देखिएकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

आज अपराह्न देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ४ र अधिकतम तापक्रम ३० दशमलव ६ डिग्री सेल्सियस छ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव ३ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव ८ डिग्री सेल्सियस छ। (रासस)

प्रकाशित मिति : २५ श्रावण २०७७ आइतबार ००:००  १२ : १७ बजे