८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सिटिइभिटीका तालिम खारेज गरिएकोमा नेविसंघको विरोध



काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सन्चालित चिकित्सा शिक्षा सम्बन्धी विषयहरु खारेज गरिएकोमा नेविसंघले विरोध जनाएको छ ।

भावी योजना र विकल्पसमेत नदिई विगत २५ वर्षदेखि सन्चालित सीएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद, टी–एसएलसी र एसईई स्तरका १८ महिने तालिमहरु बन्द गरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघले विरोध जनाएको हो ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाल कोभिड–१९ विरुद्धको लडाइँमा फ्रन्टलाइनरको रुपमा कार्यरत सीएमए, अनमी, ल्याब असिस्टेन्टहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार विद्यार्थीहरुलाई समेत आतंकित बनाउँदै कुनै खाका र योजनाविना नै किन बन्द गरियो रु’

यो निर्णयले नयाँ शैक्षिक सत्र र भर्ना तथा पठनपाठनको सम्पूर्ण तैयारी भैसकेको अवस्थामा विद्यार्थी, अभिभावक र शिक्षण संस्थामाथि ठूलो नकारात्मक असर पारेको नेविसंघको ठहर छ । यो निर्णय सरकारको गलत मनसायबाट भएको विज्ञप्तिमा उल्लेख छ ।

नेविसंघका अध्यक्ष ढुंगानाले भनेका छन्, ‘पूर्वाधार सम्पन्न संस्थाहरुलाई अपग्रेड गर्ने सम्बन्धमा कुनै सोच नराख्ने, चलिरहेका यस्ता सिपमूलक तालिमहरु बन्द गराउने तर लेभल–१, लेभल–२ जस्ता तालिमहरुमार्फत् शुल्क असुल्ने क्रियाकलाप खराब नियत र मनसायबाट ग्रसित छ ।’

प्रकाशित मिति : १५ भदौ २०७७ सोमबार ००:००  ५ : ५० बजे