७ असार २०८३, आइतबार | Mon Jun 22 2026

फ्रान्समा एकै दिनमा ६० हजार कोरोना संक्रमित थपिए



एजेन्सी ।

फ्रान्समा एकै दिन ६० हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टायता मात्र कम्तीमा पनि ६० हजार चार सय ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले यो संख्या यहाँ कोभिड १९ महामारी शुरु भएपछिको २४ घन्टामा देखिएको सबैभन्दा धेरै हो । यहाँको स्वास्थ्य अधिकारीहरुले फ्रान्समा र अझ बढी पेरिसमा कोभिड संक्रमण दिन प्रतिदिन झनै ठूलो संख्यामा बढ्दै गएको बताएका छन् । अधिकारीहरूका अनुसार यस संक्रमणबाट फ्रान्समा बिहीबार ५८ हजारजना भन्दा बढी व्यक्ति सङ्क्रमित भएका थिए भने शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् ६० हजार जनाभन्दा बढी देखिएका हुन् ।

यो सँगै फ्रान्समा शुक्रबारसम्ममा १६ लाख ६१ हजार आठ सय ५३ जना नागरिक सङ्क्रमित हुन पुगेका छन् । यहाँ पछिल्लो २४ घन्टामा आठ सय २८ जनाको निधन भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पनि ३९ हजार नाघेको फ्रान्सको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरूका अनुसार फ्रान्समा मृत्यु हुनेको संख्या शुक्रबारसम्म ३९ हजार आठ सय ६५ जना पुगेको छ । यहाँ गत साता मात्र २० हजारभन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन् । अधिकारीहरुले पछिल्लो समयमा फ्रान्समा कोरोना भाइरसको निकै द्रुत गतिमा बढ्दै गएकोले थप सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

कोरोनाका सङ्क्रमित बढ्दै गएपछि धेरै स्थानमा प्रतिबन्धहरू पनि लगाइएको छ । प्रतिबन्धको सर्वसाधारणले विरोध पनि गरिरहेका छन् । यसलाई यहाँका अधिकारीहरूले दोस्रो चरणको वेभ आएको हो कि भनेर पनि विश्लेषण गरिरहेका बताइएको छ । जसका कारण यहाँ स्वास्थ्य सतर्कतालाई अझ बढाइएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७ शनिबार ००:००  १ : ५९ बजे