८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

पार्टीभित्रको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगरौँः वरिष्ठ नेता खनाल



इलाम ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा का वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने बताउनुभएको छ । उहाँले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी दिनुभयो । नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ, अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउनु हुन्न्ु, इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पतालको शिलान्यास गर्दै उहाँले भन्नुभयो ।

उहाँले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको सङ्घारमा पुगेको अड्कलबाजी मिथ्या सावित हुने बताउनुभयो । खनालले मिडियाले प्रचार गरे जस्तो नेकपा कच्चा नभएको उल्लेख गर्नुभयो । ुखास गरेर मिडियामा बसेका कच्चा मानिसले गलत कुराको प्रचार गरिरहेका छन्, नेकपा फुट्छ भनेर कुर्लिएका छन्, तर म तपाईँहरुलाई भन्छु नेकपा फुट्दैन, नेकपा टुट्दैन, यसलाई कसैले पनि फुटाउन सक्दैन, पार्टीभित्रको अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछु, खनालले भन्नुभयो ।

उहाँले अहिलेको बहस पार्टीको एकताका पक्षमा रहेकाले नडराउन कार्यकर्तालाई आग्रह गर्नुभयो । नेकपालाई कसले फुटाउन सक्छ, कुन नीतिले फुटाउन सक्छ, कुन कानुनले फुट्न सक्छ, हामी चुनौती दिन चाहन्छौँ, उहाँले भन्नुभयो, हामीलाई फुटाउने भनेको संविधानबमोजिम, कानुनबमोजिम फुटाउन सक्नुपर्छ तर संविधान र कानुनले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौँ, बहस छलफलबाट आतिनुपर्ने कुरा छैन । रासस

प्रकाशित मिति : १५ मंसिर २०७७ सोमबार ००:००  ३ : २४ बजे