२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

आज बस्ने बैठकले एमालेको दशौँ महाधिवेशनको मिति हेरफेर गर्ने तयारी



काठमाडौं ।
नेकपा एमालेले दशौँ महाधिवेशनको मिति हेरफेर गर्ने तयारी गरेको छ। आज दिउँसो ३ बजे बस्ने बैठकले दशौँ महाधिवेशनको मिति हेरफेर गर्न लागेको हो।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्ने बैठकले पार्टीको सांगठनिक गतिविधिलाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

उनले भने,आजको बैठकले महाधिवेशनको समय हेरफेर गर्छ। समय अभावको कारणले आगामी मंसिर २ देखि ६ मा तोकिएको मिति सार्नुपर्ने बाध्यात्मक परिस्थिती सिर्जना भएको छ। मिति हेरफेर हुनसक्छ।

सरकारले प्रतिनिधि सभा विघटन गरेर कात्तिक र मंसिरमा निर्वाचनको मिति तोकेको हुनाले पार्टीको महाधिवेशन गर्न समय नपुग्ने उनको भनाइ छ।

एमालेको केन्द्रीय कमिटीको बैठक शुक्रबार पनि बसेको थियो। शुक्रबारको बैठकले असन्तुष्ट नेता माधवकुमार नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन निर्देशन दिएको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकलाई नै अवैध भन्दै आएको नेता नेपाल समूहले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडानमा छ। तर, अध्यक्ष ओलीले पार्टीको निर्देशनपछि पनि अटेर गरिरहे पार्टी एक हुने सम्भावना नरहेको चेतावनी दिइसकेका छन्। शीर्ष तहको टकरावले पार्टी विभाजनको डिलमा पुगे पनि दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउन लागिपरेका छन्।

प्रकाशित मिति : १९ असार २०७८ शनिबार ००:००  १ : १८ बजे