६ असार २०८३, शनिबार | Sat Jun 20 2026

साढे ८ लाख पुग्यो कांग्रेस क्रियाशील सदस्य संख्या



काठमाडौं ।
नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या विगतको भन्दा दोब्बर बढीले बढेको छ। नयाँ कियाशील सदस्य संख्या आठ लाख ५२ हजार सात सय ११ पुगेको छ।

तीमध्ये चार लाख ४३ हजार ६ सय ७८ जना नयाँ सदस्य थपिएका छन्। क्रियाशील सदस्यता छानविन समितिले पार्टीको पदाधिकारी बैठकमा मंगलबार प्रतिवेदन पेस गरेको छ।

पुराना चार लाख ९ हजारको सदस्यता नवीकरण भएको छ। प्रतिवेदन अनुसार सबैभन्दा धेरै क्रियाशील सदस्य वागमती प्रदेशमा १ लाख ८६ हजारको नाम अनुमोदन भएको छ भने सबैभन्दा कम कर्णालीमा ५४ हजार ६६ जना छन्।

समितिले धनुषा क्षेत्र नम्बर ४,सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद भने टुंगो लगाउन नसकेको जनाएको छ। रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले तयार पारेको प्रतिवेदन पदाधिकारी बैठकमा छलफलपछि केन्द्रीय कार्य समितिमा पेस हुनेछ।

सात सदस्यीय समितिका सदस्य कल्याण गुरुङले भने ‘नोट अफ डिसेन्ट’ लेखेका छन्। क्रियाशील सदस्यता सम्बन्धी सक्कल कागजात नआइकन प्रतिवेदन तयार पारिएकाले फरक मत राखेको गुरुङले बताए।

प्रकाशित मिति : १२ श्रावण २०७८ मंगलबार ००:००  १२ : ५३ बजे