८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चितवनमा स्क्रब टाइफस महामारीको खतरा, २ सातामा ३७ संक्रमित भेटिए



१५ साउन, चितवन ।

चितवनमा पछिल्लो २ सातामा स्क्रब टाइफसको संक्रमित उल्लेख्य बढेको छ । साउन महिना लागेयता मात्रै ३७ जना नयाँ संक्रमित भेटिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न अस्पतालमा गरी १०९ जनामा गरिएको परिक्षणमा ३७ जनामा खसंक्रमण भेटिएको हो ।

जनस्वास्थ्य कार्यालयका भेन्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए केसीका अनुसार भरतपुर अस्पतालमा १८ जना, नारायणी सामुदायिकमा १६ जना र बकुलहर अस्पतालमा ३ जनामा स्क्रब टाइफसका संक्रमित भेटिएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख विजयकुमार झाले छोटो अवधीमा यति धेरै बिरामी भेटिनु डरलाग्दो भएको प्रतिक्रिया दिए ।

प्रमुख झाले भने, ‘यो सख्या व्यापक हो, यसअघि यति धेरैको संख्यामा स्क्रब टाइफस जिल्लामा देखिएको थिएन ।’ गएको वैशाख र जेठ महिनामा २/२ जना, असारमा ५ जनामा स्क्रब टाइफसको संक्रमण भएको भेटिएको थियो । तर, साउन महिना ठूलो संख्यामा स्क्रब टाइफसको संक्रमण देखिनु खतराको संकेत भएको फिजिसियन डा. भोजराज अधिकारीले बताए ।

टाउको दुख्ने, अत्याधिक ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने स्क्रब टाइफसको प्रमुख लक्षण हुन् । यो रोग चितवनमा २ वर्ष अघिदेखि देखिन थालेको हो । नेपालमै सबैभन्दा बढी स्क्रब टाइफस संक्रमित पनि चितवमै छन् ।

‘माइट’ नामको किर्नाले टोकेपछि स्क्रब टाइफस रोग लाग्छ । यो जुम्राभन्दा पनि सूक्ष्म हुन्छ । प्रायः नाङ्गो आँखाले देख्न सकिदैन् । यो मुसाको कानमा बस्छ । घाँसमा ‘माइट’ झरेको अवस्थामा मानिससँगको सम्पर्कमा आउँदा यसको संक्रमण हुन्छ ।

परिक्षण गर्ने कीटको अभाव !

साउन महिनाको २ साता भित्रै ३७ जना बिरामी भेटिएपनि परीक्षण किटको अभावमा अझै अन्य बिरामीहरूमा संक्रमण रहे वा नरहेको एकिन तथ्याङ्क आउन सकेको छैन् ।

‘किटकै अभाव भएपछि संक्रमण भएको नयाँ बिरामीको संख्या आउने कुरै भएन’ जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले भने, ‘पटक पटक माग गर्दा पनि पठाइएको छैन् ।’

जनस्वास्थ्य प्रमुख विजयकुमार झाले आˆनै स्रोतले किनेको १९६ वटा कीट जिल्लाका सरकारी अस्पतालहरुलाई उपलव्ध गराएको दुखेसो पोखे । उनले पछिल्लो समय स्क्रब टाइफसको परीक्षण गर्न प्रयोग हुने कीट भरतपुर अस्पतालामा १५० वटा र बाँकी बकुलहर अस्पतालमा उपलव्ध गराएको बताए । ‘अस्पतालहरुलाई नै आफै कीट किनेर प्रयोग गर्न भनेका छा’ैं झाले भने, ‘माथिबाट आएछ भने पठाउँला ।’

चितवनमा एकै प्रकृतिका तीन रोगको खतरा

जिल्लामा रोग संक्रमण गराउने उपयुक्त मौसम भएको कारणले यहाँ रोगको जोखिम पनि उत्तिकै छ । जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु, चिकनगुनिया तथा स्क्रब टाइफसको जोखिम उच्च छ । डेंगु र चिकेनगुनिया लामखुट्टेबाट सर्छ । यसको भाइरस मार्न सकिँदैन ।

चिकनगुनिया रोग हालसम्म तीन जनामा देखिएको छ । चिकनगुनिया भएपछि डेंगुकै लक्षण ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, जोर्नीहरु बढी दुख्ने हुन्छ ।

चिकेनगुनिया सार्ने लामखुट्टे टायर, गमलाको सफा पानीमा बस्छ । आर्थिक वर्ष ०७२/०७३ मा १२७५ जनामा गरिएको डेंगु परीक्षणमा ८५ जनामा डेंगु संक्रमण भएको पाइएको थियो भने गत आर्थिक वर्षमा २४२० जनामा गरिएको परिक्षणमा ५८७ जनामा डेंगुको संक्रमण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यक्रम चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।

डेंगुका कारण अघिल्लो बर्ष पश्चिम चितवनको पटिहानीका एक जनाको मृत्यु भएको थियो गत वर्ष खैरहनीका १ जनाको ज्यान गएको थियो । गएको कार्तिक महिनामा पूर्वी चितवनको रत्ननगर क्षेत्रमा डेंगुको महामारी नै फैलिएको थियो । चितवनमा भद्रौं, असोज र कार्तिकमा सवैभन्दा बढि डेंगुको संक्रमण भएको पाइएको छ ।

गर्मी र वर्षातको पानी सुक्ने अवस्थामा पुगेका बेला डेंगुको संक्रमण हृवात्तै बढने गरेको भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताए । जिल्लामा स्क्रब टाइफसको जोखिम पनि उत्तिकै छ ।

आर्थिक वर्ष ०७२/०७३ मा ४५ जनामा गरिएको स्क्रव टाइफसको परीक्षणमा ३३ जनामा संक्रमण भेटिएको थियो भने, गत आर्थिक वर्षमा १६२८ जनामा गरिएको परीक्षणमा ५०५ जनामा स्क्रव टाइफसको संक्रमण भएको पाइएको छ ।

स्क्रव टाइफसका कारण ‘मल्टिपल अर्गान फेल्योर’ भएर गएको वर्ष ४ जनाको मृत्यु भएको छ । गएको भदौ महिनामा १ जना र ३ जनाको कात्तिकमा मृत्यु भएको थियो । मृत्यु भएका मध्ये १ जना तनहुँका र ३ जना चितवनका नै थिए ।

आव ०७२/०७३ मा भने १ जनाको स्क्रबका कारण मृत्यु भएको थियो । नेपालमा २०७२ सालमा पहिलो पटक पूर्वी जिल्लाहरुमा यो रोग देखिएको थियो । त्यसबेला १०१ जनामा संक्रमण हुँदा ८ जनाको मृत्यु भएको थियो।

ज्वरो आउनसाथ तुरुन्तै अस्पताल आउनुहोस्ः चिकित्सक

स्क्रव टाइफस, डेंगु वा चिकनगुनिया, मलेरियालगायत सबैको मुख्य लक्षण भनेको ज्वरो हो ।

ज्वरो आयो भनेर सामान्य रूपमा लिने र सिटामोल मात्रै खाएर घरमा बस्दा ज्यानै जान सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । ज्वरो आउनुको कारण के हो भन्ने बारेमा खोजी नगरी आफु खुसी औषधी सेवन गर्दा यि रोगले ज्यान नै लिन सक्छ ।

‘ज्वरो आएको त हो नी भनेर सिटामोल वा अन्य औषधी किनेर खानु भनेको मृत्यलाई नजिक बोलाउनु हो’ चिकित्सकले भने, ‘पछि रोगले निकै च्याप्दै लगेपछि ‘मल्टिपल अर्गान फेल्योर’ हुने र अान्तरिक रक्तश्राव भएर बिरामी मर्दछ ।

त्यसैले ज्वरोलाई सामान्य रुपमा नलिई चिकित्सककोमा देखाउनुपर्दछ । ल्याव परिक्षण गरेर मात्रै औषधिको सेवन गर्नुपर्दछ ।
स्क्रब टाइफसको सिजन कार्तिकसम्म मानिन्छ । चितवन देशकै मध्य भागमा रहेकोले सबै ठाउँका मान्छेको यस जिल्ला भएर आउजाउ गर्ने कारणले पनि यहाँ रोगहरुको खतरा बढ्ने चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति : १५ श्रावण २०७४ आइतबार ००:००  १० : ०९ बजे