१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाढीले बगाउदा कपिलवस्तुमा २ जनाको ज्यान गयो



सीताराम चौधरी कपिलवस्त, १९ साउन ।
खोलामा आएको बाढीले बगाएर गयराति कपिलवस्तुको विजयनगर गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर ४, त्रिपालनगरका ४५ वर्षीय कुस्ते सुनार र रोल्पा घर भएका ५० वर्षीय मित्रे सुनार रहेको प्रहरीले जनाएको छ ।
विजयनगर १, नौडिहवाका स्व. चन्द्र बहादुर सुनारको १२औं पुण्यतिथिमा भेट गर्न जान लागेका उनीहरुलाई विसहवा खोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो । मध्यरातको समयमा जबरजस्ती खोला तर्न खोज्दा बाढीले बगाएको हुनसक्ने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिनुभयो । मृतकमध्ये कुस्ते सुनारको शव विहीबार बिहानै भेटिएको थियो भने मित्रे सुनारको शव बिहान साढे १० बजे फेला परेको प्रहरी निरीक्षक घर्तीमगरले बताउनुभयो ।
मृतक दुवैको शवलाई पोष्टमार्टमका लागि विहीबार नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक घर्तीले जनाउनुभयो ।
यसैगरी दुईदिनअघि खोलामा पौडी खेल्दा शिवराज नगरपालिका ९ बनियाभारका करीब १० वर्षीय बालक संन्दिप वि.क.को डुबेर मृत्यु भएको थियो । बालक बनियाभारस्थित सरस्वती आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत विद्यार्थी रहेको प्रधानाध्यापक विक्रम के.सी.ले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  ६ : ३५ बजे