काठमाडौँ ।
कलेजो हाम्रो शरीरको महत्त्वपूर्ण अङ्ग हो । यसले खाना पचाउन सहयोग गर्नुका साथै शरीरबाट विषाक्त पदार्थ हटाउने, पोषक तत्त्वको प्रशोधन गर्ने र मेटाबोलिज्मलाई व्यवस्थित राख्ने काम पनि गर्छ ।
गलत खानपान, अत्यधिक मदिरा सेवन, मोटोपन तथा केही सङ्क्रमणका कारण लिभरमा समस्या आउन सक्छ । त्यसैले फ्याटी लिभर, हेपाटाइटिसदेखि सिरोसिससम्मका अवस्थामा खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।
रक्सीबाट टाढा रहनुस्
कलेजोमा समस्या भएका व्यक्तिले सबैभन्दा पहिले त मदिराबाट टाढा रहनुपर्छ । मदिरा प्रशोधन गर्ने मुख्य अङ्ग कलेजो हो । रक्सीको अत्यधिक सेवनले कलेजोका कोसीकामा क्षति पुर्याउन सक्छ । पहिलेदेखि नै कलेजोमा क्षति पुगेको अवस्थामा मदिराले समस्या थप गम्भीर बनाउन सक्छ ।
तारेको वा भुटेको खानेकुराको सेवन कम गर्नुस्
त्यस्तै, समोसा, पकौडा, पुरी, फ्रेन्च फ्राइज, चिप्सलगायत तेलमा तारिएका खानेकुराको सेवन पनि कम गर्नुपर्छ । यस्ता खानेकुरामा चिल्लो र क्यालोरीको मात्रा बढी हुने भएकाले फ्याटी कलेजोको समस्या थप बढ्न सक्छ ।
धेरै औषधि सेवन हानिकारक
कलेजोको समस्या हुँदा जथाभाबी औषधि सेवन गर्नु पनि हानिकारक हुन सक्छ । अत्यधिक औषधिको सेवनले कलेजोमा थप असर पार्न सक्ने भएकाले चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्नु उचित हुन्छ ।
धेरै नुनको सेवन नगर्ने
कलेजोको गम्भीर रोग, विशेषगरी सिरोसिसका कारण शरीरमा पानी जम्ने वा पेट सुन्निने समस्या भएका व्यक्तिले नुनको मात्रा पनि कम गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा चिकित्सकले सोडियम कम सेवन गर्न सुझाव दिन सक्छन् । त्यसैले खानामा आवश्यकताभन्दा बढी नुन थप्ने बानीबाट बच्नुपर्छ ।
त्यसो भए के खाने त ?
कलेजोसम्बन्धी समस्या भएका व्यक्तिले के नखाने भन्ने मात्र होइन, के खाने भन्नेमा पनि ध्यान दिनुपर्छ । सामान्यतया फलफूल, तरकारी, बोक्रा नफ्याँकिएको अनाज र स्वास्थ्य अवस्थाअनुसार पर्याप्त प्रोटिनलाई आहारमा समावेश गर्न सकिन्छ । तर कुन प्रकारको आहार उपयुक्त हुन्छ भन्ने कुरा रोगको अवस्था र व्यक्तिको स्वास्थ्यअनुसार फरक हुन सक्ने भएकाले चिकित्सकसँग परामर्श गर्नु आवश्यक हुन्छ ।









प्रतिक्रिया