१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

ओझेलमा पर्दै ऐतिहासिक भगवती मन्दिर



 

नवलपरासी, १९ साउन ।

नवलपरासीको पाल्हीनन्दन गाउ‘ंपालिकामा अवस्थित पाल्ही भगवती मन्दिर यतिबेला उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुअघि पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो मन्दिरमा सेनवंशी राजपरम्पराकी कुल देवी पाल्ही भगवतीको स्थापना भएको हो ।

नवलपरासी जिल्लाको सदरमुकाम परासीदेखि आठ किमी परासी महेशपुर मार्गको दायाँ भागमा पाल्ही भगवती मन्दिर अवस्थित रहेको छ । पाल्ही भगवती मन्दिर नवलपरासी जिल्लाका अतिरिक्त अन्य जिल्ला र भारतको उत्तर प्रदेशसम्म ख्याति प्राप्त रहेको पाइन्छ ।
सेनवंशी राजाको पाल्हीमा दरबार रहेको र दरबारभित्र पुजिने इष्ट देवीका रुपमा पाल्ही भगवती रहेकी थिइन् । सेनवंशी शासनकालमा रतन सेनले आफ्नो दरबारमा पाल्ही भगवतीको पूजा गर्दै आएको पाइन्छ ।

हाल यो मन्दिर पुरानो भए पनि उचित प्रचारप्रसार हुन नसक्दा यस मन्दिरको अस्तित्व दिनप्रतिदिन लोप हुँदै जाँदा ओझेलमा पर्दै गएको हो ।

मूर्तिका रुपमा नभई माटोबाट निर्मित शक्ति पीठको स्थापना गरी पाल्ही भगवतीको पूजाआजा हुँदै आएको र साविकमा पाल्ही कोटकी कालीको नामले भगवतीलाई पुकारिने गरिन्थ्यो । सेन राजाहरुले पाल्हीमा दरबार बनाएकाले भगवतीको नाम पनि पाल्ही कोटकी काली राखिएको इतिहासमा पाइएको छ ।

तत्कालीन रुपन्देहीको केही भाग र परासी क्षेत्रलाई पाल्ही माझखण्ड भनिने गरेको र पाल्ही गोश्वारा माझखण्डका नामले स्थानीय प्रशासन पनि चल्दै आएको थियो । नेपालको एकीकरणपछि राणा शासनकाल (१९३९) भरि त्यहाँको प्रमुख अड्डाका रुपमा मालपोत कार्यालय रहेको र केन्द्रबाट सुब्बा खटिएर प्रशासन चलाउने गरेका थिए ।

मन्दिरको हाता वरिपरि मन्दिरले चर्चेको जग्गा १६ कट्ठा छ । पाल्ही भगवती मन्दिरमा देवीको अमूर्त मृण्मय पीण्डका रुपमा रहेको छ । मन्दिरभित्र वरिपरि देवीका मूर्ति र चित्र रहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७४ बिहिबार ००:००  २ : १६ बजे