११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

महिनावारीका बेला पेट दुख्ने कारण



डा. मीरा हाडा ।
धेरैजसो महिलामा महिनावारीको समयमा पीडा हुने समस्या छ । अधिकांशलाई महिनावारीको चक्र सुरु हुने केही दिनअघिबाटै समस्या सुरु हुन्छ । प्रिमेनस्ट्रल सिन्ड्रोम (पिएमएस) भनिने यो अवस्थामा डन्डिफोर आउने, थकान, ढाड दुख्ने, स्तन दुख्ने, टाउको दुख्ने, कब्जियत, झाडापखाला, खाना नरुच्ने, डिप्रेसन, चिडचिडाहट, ध्यान केन्द्रित गर्न समस्या हुने, तनाव र अनिद्राजस्ता लक्षण देखा पर्न सक्छन् ।
महिनावारीको चक्र अगाडिदेखि नै विभिन्न समस्या देखिनुको खास कारण पत्ता लागिसकेको छैन । तर, अधिकांशको के विश्वास छ भने हर्मोनमा आएको गडबडीका कारण यसो भएको हो । महिनावारीपछि महिलामा हुने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन शरीरमा वृद्धि हुन्छ । तर, महिनावारी सुरु हुने एक साताअघि यी हर्मोन घट्न थाल्छन् । यही कारण यस्तो हुन्छ । अहिलेको अवस्थामा महिनावारीताका पेट दुख्नुलाई सामान्य मानिएको छ । प्रायः महिलाको यो समया पेट दुख्ने भए पनि कसैको धेरै नै दुख्छ । महिलामा रहेको रोग प्रतिरोधी क्षमताले पनि यसमा फरक पार्न सक्छ किनभने कतिपयले यो समस्यालाई सहजै पचाइदिन्छन् ।
यसबाट उत्पन्न हुने समस्याबाट आराम पाउन सन्तुलित भोजन खानुपर्छ, ताजा फलफूल तथा तरकारीमा जोड दिनुपर्छ । चिप्स तथा क्र्याकरजस्ता तयारी खाद्यपदार्थबाट टाढै बस्नुपर्छ । पानी बढी खानुपर्छ । यस्तै, क्याफिनयुक्त खाद्यपदार्थ चिया र कफी बढी खानुहुन्न भने निद्रा पु¥याउने गरी सुत्नुपर्छ । यथेष्ठ मात्रामा क्याल्सियम पाइने पदार्थ खानुपर्छ र दैनिक रुपमा मल्टिभिटामिनले फाइदा पु¥याउँछ । तनाव शान्त पार्न गरिने ध्यान र दैनिक शारीरिक अभ्यासले युवतीहरुलाई सहयोग गर्छ । धेरै पीडा भएमा डाक्टरसँग सल्लाह गर्नु राम्रो हुन्छ ।
डा. मीरा हाडा, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ वयोधा अस्पताल, बल्खु, काठमाडौँ

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  ११ : ३१ बजे