१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वाणगंगाका जनप्रतिनिधिलाई स्तनपानबारे प्रशिक्षण



कपिलवस्तु, २० साउन ।
विश्व स्तनपान दिवसको अवसर पारि वाणगंगाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण दिइएको छ । जिल्ला स्वास्थ्य कार्यलयको आयोजना, वाणगंगा नगरपालिकाको समन्वय र सुआहार कार्यक्रमको सहयोगमा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा नगरबाट निर्वाचित मेयर, उपमेयर र ११ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन विष्णु पौडेलले स्तनपानको महत्व र आवश्यक्ताको बारेमा जनप्रतिनिधिलाई प्रशिक्षण दिनुभएको थियो ।

अहिले विश्वभर २५ औँ स्तनपान सप्ताह मनाइ रहिएको छ । “ सबै मिली स्तनपानलाई दिगो बनाऔँ ” भन्ने मुल नाराको साथ विश्वभर स्तनपान दिवस मनाइएको हो । यहि अगष्ट १ देखि ७ गते सम्म यो दिवस मनाइनेछ ।

अभिमुखीकरण कार्यक्रम पश्चात बोल्दै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले आमा र बच्चा शारीरिक, मानसिक र संवेगात्मक रुपले तन्दुरुष्ट हुन स्तनपानको महत्व धेरै हुदो रैछ भन्ने कुराको जानकारी भएको बताउनुभयो । कपिलवस्तु हरेक हिसाबले पछाडी रहेको भन्दै कुपोषणको समस्या हटाउन पनि आफु लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपमेयर चक्रपाणी अर्यालले कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । स्तनपानको महत्व र आवश्यक्ताको बारे प्रशिक्षण लिएपछि धेरै कुरा थाहा भएको र अब नगरका हरेक ठाउमा कार्यक्रम लिएर जाने बताउनुभयो ।

सोहि कार्यक्रममा नगर अधिकृत तुलसीराम मरासिनी, सुआहार कार्यक्रमका जिल्ला संयोजक लवहरी बुढाथोकीले बोल्दै स्तनपान गराउदा ध्यान नदिएकै कारण बच्चाको मानसिक र शारीरिक विकासमा बाधा पुग्ने हुदा यो बिषयलाई हरेक गाउ गाउ सचेतनाको रुपमा लैजान जनप्रतिनिधिलाई आग्रह गर्नुभएको थियो ।

वाणगंगानगरका स्वास्थ्य विभागका कर्मचारी कमल ज्ञवालीले नगरभित्र कुपोषणबाट ग्रसित बालबच्चालाई सुपोषित पार्न विशेष योजनाको साथ अगाडी बढ्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन स्वास्थ्यकर्मी कृष्ण घिमिरेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७४ शुक्रबार ००:००  २ : ०४ बजे