१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हेय र भेदभाव हटे मात्रै यौन हिंसा उजागर हुने



कपिलवस्तु, २१ साउन ।
कपिलवस्तु जिल्लाका सरोकारवालाले परिवार र समाजले सहयोग गर्ने बातावरण बनेर हेय र भेदभाव हटे मात्रै यौन हिंसाका घटना उजागर हुने बताएका छन । बेलायती राजदुताबासको सहयोगमा साथी संस्थाले तौलिहवामा आयोजना गरेको यौन हिंसाको रोकथाम जिल्ला परामर्श बैठकका सहभागीले सो बिचार व्यक्त गरेका हुन । सो अवसरमा बोल्दै संस्थाका जिल्ला संयोजक खग प्रसाद चापागाईले साथी संस्थाले जिल्लामा लैगिंक हिंसा बिरुद्ध सचेतना कार्यक्रम सगै घरेलु हिंसा प्रभावित महिलाका लागी ९ बर्ष यता आश्रय गृहको सेवा प्रदान गर्दै आएको बताए । संस्थाले हाल सम्म १ हजार ३ सय ५० बढि महिला र बालिकालाई आश्रय गृहको सेवा प्रदान गरेको जनाउदै पछिल्लो ७ महिनाको अबधीमा ८५ जनाले आश्रय गृहको सेवा पाएको र ४ जना यौनहिंसा प्रभावित रहेको जनाए ।

सो अवसरमा संयोजक चापागाईले गत आर्थिक बर्षको अबधीमा महिला बालबालिका कार्यालयमा यौनहिंसाका ५ वटा निवेदन आएको, जिल्ला प्रहरी कार्यालयमा २० वटा जबरजस्तीकरणी र १२ वटा करणी उधोगका जाहेरी परेको जनाए । त्यसै गरि जिल्ला सरकारी वकिल कार्यालयले १२ करणी मुद्दा र ११ उधोगका मुद्दा दर्ता गर्नुका साथै जिल्ला अदालतमा जबरजस्ती करणीका ३३ मुद्दा मध्य १३ मुद्दा फर्छौट भएको र २० मुद्दा बाकि रहेको तथा अन्य करणीको १० मुद्दा मध्य ४ मुद्दा फर्छौट भएको र ६ मुद्दा बाकी रहेको तथ्याङ्कले देखाएको जनाए ।

सो अवसरमा बोल्दै बेलायती राजदुताबासकी राजनैतिक सेक्सन प्रमुख क्याथ्रिन पाईले यौनजन्य हिंसामा हुने हेय, अवहेलना र शारिरीक तनाबका बारेमा बेलायतको बिषेश चासो रहेको बताईन । नेपाल जस्तै द्धन्दग्रस्त २० मुलुकमा आफुहरुले परामर्श बैठक मार्फत सुझाव संकलन गर्दै आएको जनाउदै मानव अधिकार रक्षक र सञ्चारकर्मीलाई यौनजन्य हिंसामा हुने भेदभाव र हेय रोक्ने बातावरण बनाउन तालिम दिईदै आएको जनाईन । आफुहरुले महिला मन्त्रालय र स्वास्थ्य मनत्रलायको समन्वयमा कार्य गरेको जानकारी दिदै जिल्ला र केन्द्रस्तरमा आउने सुझाव र सल्लाह बेलायतले संयुक्त राष्ट्र संघको साधारण सभामा समेत पेश गर्ने उनको भनाई थियो ।

जिल्लामा आयोजित परामर्श बैठक १३२५ र १८२० को निर्माणाधिन दोस्रो राष्ट्रिय कार्ययोजनाका लागी समेत सहयोगी सिद्ध हुने उनको भनाई थियो । जिल्लामा यौन हिंसाका घटना बढि भए पनि उजागर हुन नसकेको ईन्सेकका जिल्ला प्रतिनिधी नन्दराम पौडेलले बताए । महिला तथा बालबालिका आफनै परिवार र समाजमै सुरक्षित नहुने बातावरण दुखदः भएको उनको भनाई थियो । द्धन्दकालमा जिल्लामा भएका यौन हिंसाका घटना उजागर हुन समस्या रहेको बताउदै यौनहिंसाका घटना सम्बोधन गर्न छुट्टै आयोगको व्यवस्था नहुदाँ समस्या आएको उनले बताए । बिधालयस्तरको पाठयक्रममै यौनहिंसाका बिषय समेटनु पर्ने सुझाव दिए । मानब अधिकारकर्मी रबि ठाकुरले द्धन्दकालमा नगर क्षेत्रमै सेना बाट भएका यौनजन्य यातना उजागर हुन नसकेको बताए ।

पछिल्ला केहि घटना क्रमले बैदेशिक रोजगारीबाट फर्किएका युवामा यौनजन्य मनोबृत्ति बढेको भन्दै उनले उनीहरुलाई निगरानी गर्न आवश्यक रहेको बताए । सञ्चारकर्मी गोपाल भण्डारीले मेलमिलापलाई प्राथमिकता दिईदा यौनहिंसा पिडितले उजुरी गर्नै समस्या परेको बताउने जनाए । बार एशोसियसनका जिल्ला अध्यक्ष अमित श्रीवास्तबले अदालती प्रक्रियामा गोपनियता सम्बन्धि नियमावली अनुसार नाम गोप्य राखिए पनि बन्द ईजलासका लागी जाने प्रभावितको पहिचान खुल्दा समस्या आएको बताए । द्धन्दका बेलामा भउका यौन हिंसाका प्रभावित पारिवारिक जिवनमा जानुका साथै न्याय प्रतिबिश्वास नहुदाँ अधिकांस घटना अब उजागर हुन समस्या रहेको गैसस महासंघ जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तबले बताए । प्रभावितका लागी क्षतिपुर्तिको व्यवस्था कार्यानवय झन्झटिलो हुदाँ र प्रभावित सगै अधिकारकर्मीको संरक्षणको ग्यारेन्टी नहुदाँ कतिपय घटना सार्वजनिक हुन नसकेको बताईन ।

यौन हिंसाका घटनामा हदम्याद र स्वास्थ्य परिक्षणको प्रतिबेदन आवश्यक पर्ने हुदाँ द्धन्दकालमा भएका घटनाका पिडितले चाहेर पनि न्याय पाउन नसकेको उनको भनाई थियो । जिल्ला अदालतका श्रेष्तेदार डिल्लीराम अर्यालले यौन हिंसाका अपराध हुनै नदिन सचेतना आवश्यक रहेको बताए । प्रभावित र साक्षीले आर्थिक लेनदेन गरि बिपरित बयान दिदा कतिपय मुद्दा अन्तिम अवस्थामा कमजोड हुने गरेको उनको गुनासो थियो । महिला बालबालिका कार्यालयकी निरिक्षक सम्झना भण्डारीले बिधार्थी केन्द्रित कार्यक्रम र पुरुष सहभागीता बृद्धि गरि सचेतना प्रवाह गरेर यौन हिंसा रोक्न सकिने बताईन ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका जनस्वास्थ्य अधिकृत बिष्णु जयसवालले हिंसा पछिको मनोसामाजिक समस्या, डिप्रेसन लगायतमा परेका महिलालाई स्वस्थ्य बनाउनका लागी कार्ययोजनामा व्यवहार परिर्वतनका कार्यक्रम समेटनु पर्नेमा जोड दिए । सो अवसरमा बोल्दै प्रहरी उपरिक्षक भोजजंग शाहले यौनहिंसाका घटना प्रति प्रहरी सम्बेदनशिल रहेको बताए । उनले त्यस्ता हिंसा बिरुद्ध शुन्य सहनशिलताको निती अख्तियार गरिएको जनाए । महिला चिकित्सक सहितको अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउन सकिए र प्रहरी, स्वास्थ्य र अन्य क्षेत्रमा महिला कर्मचारीको व्यवस्था गर्न सकिए लुकेर रहेका धेरै घटना बाहिर आउने बातावरण बन्ने कपिलवस्तु नगरपालिकाका मेयर किरन सिंहले बताए ।

सरकारले बनाउदै गरेको १३२५ र १८२० को दोस्रो कार्ययोजनाका लागी बैठकले सहयोग पुर्याउने प्रजिअ बिष्णु प्रसाद ढकालले बताए । बिभेद र अवहेलना हुने ठाँउमा द्धन्द र हिंसा हुने उनको भनाई थियो । यौनहिंसा रोक्न नियन्त्रात्मक, सचेतनात्मक र दण्डात्मक कार्य अगाडी बढाउदै दण्डहिनताको बातावरण हटाएर हिंसा बिरुद्ध शुन्यसहनशिलताको निती अख्तियार गर्नु पर्नेमा उनको जोड थियो । संघिय संरचनामा स्थानिय तहमा गठन हुने न्यायिक समितीलाई अधिकार सम्पन्न र श्रोत तथा क्षमता बृद्धिमा कार्यक्रम कार्ययोजनाले समेटनु पर्ने उनको सुझाव थियो ।

कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघ सिड समितीकी सदस्य तथा साथीकी पुर्व केन्द्रिय अध्यक्ष बन्दना राणाले हेय र भेदभाव हटाउन सकिए मात्र यौनजन्य हिंसाका घटना उजागर हुने बताईन । उनले जिल्लास्तरमा राखिएको परामर्श बैठकले राष्ट्रिय कार्ययोजना निर्माणका लागी सुझाव संकलन गरेको बताईन । आफुले अन्तरराष्ट्रिय फोरममा समेत सो बिषयलाई गम्भिरताका साथ उठान गर्ने उनको प्रतिबद्धता थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  २ : १३ बजे