बाबुराम रायमाझी ,भलवाड ।
वाणगंगा नगरपालिका–९ भलवाडमा सम्पन्न निस्शुल्क आँखा परीक्षण तथा उपचार शिविरबाट ५०३ जनाले सेवा लिएका छन् । वाणगंगा नगरपालिकाको आयोजना तथा स्थानीय वडा कार्यालयको समन्वय तथा छ्न्द ९काले बाबु० नारायणी आंखा अस्पताल बहादुरगंजको प्राबिधिक सहयोगमा भलवाड स्वास्थ्य चौकी परिसरमा आयोजित उक्त शिविरमा आँखासम्बन्धी विभिन्न समस्या भएका सेवाग्राहीहरूले प्रत्यक्ष लाभ उठाएका थिए ।
शिविरमा सहभागीमध्ये १०५ जनामा मोतियाबिन्दु ९क्याटार्याक्ट० रहेको पहिचान भई आवश्यक शल्यक्रियाका लागि वाणगंगा–२ स्थित पिपरा अस्पतालमा रिफर गरिएको आयोजकले जनाएको छ । रिफर गरिएका बिरामीहरूको निस्शुल्क शल्यक्रिया समेत सोही अस्पतालमा गरिने व्यवस्था मिलाइएको छ ।
शिविरमा अनुभवी आँखा विशेषज्ञ तथा स्वास्थ्यकर्मीहरूको टोलीले आँखाको परीक्षण, परामर्श, औषधि वितरण र आवश्यक परे चस्मा प्रदान गर्ने सेवा उपलब्ध गराएको थियो । आँखाको सामान्य समस्या पहिचान गरी उपचार सुझाव दिनुका साथै जोखिममा रहेका बिरामीहरूको थप उपचारका लागि व्यवस्था गरिएको भलवाड स्वास्थ्य चौकीले जनाएको छ ।
कार्यक्रम भलवाड स्वास्थ्य चौकी प्रमुख जित विकास रायमाझीको सहजीकरणमा सम्पन्न भएको हो । उनले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता शिविरहरू निरन्तर सञ्चालन गरिँदै आएको बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।
स्थानीयवासीहरूले आफ्नै टोलमै पुगेर निस्शुल्क आँखा परीक्षण र उपचार पाएकोमा खुशी व्यक्त गर्दै यस्तो शिविरले आर्थिक रूपमा कमजोर र उपचार पहुँचबाट टाढा रहेका नागरिकलाई ठूलो राहत मिलेको बताएका छन् ।
आयोजक पक्षले शिविर सफल बनाउन सहयोग गर्ने सबै स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, संचारकर्मि,सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गरेको छ ।







प्रतिक्रिया