१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पाल्पामा ज्वरोका कारण १५ दिनमा पाँचजनाको मृत्यु



पाल्पा, २१ साउन ।
ज्वरोका कारण पाल्पामा पछिल्लो १५ दिनमा पाँचजनाको ज्यान गएको छ । उपचारका लागि तानसेनमा रहेको लुम्विनी मेडिकल कलेज प्रभासमा भर्ना भएका पाँचजनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । अत्याधिक ज्वरो आउने, शरीर दुख्ने, वान्ता हुने जस्ता समस्या भएका बिरामीको उपचारको क्रममा ज्यान गएको हो ।
उपचारका लागि अस्पतालमा भर्ना भएकी मदाने–१ गुल्मीकी १६ वर्षकी अनिता बिष्टको साउन ६ गते, रैनादेवी–१ सिद्धेश्वर पाल्पाका ६५ वर्षका मानबहादुर कुमालको १४ गते, माथागढी–३ कसेनी पाल्पाकी २८ वर्षकी चन्दा रानाको १९ गते, माथागढी–४ झडेवा पाल्पाकी ६७ वर्षकी बसन्ती कुँवरको २० गते र माथागढी–३ कसेनीकै ७४ वर्षका मानबहादुर चिदीको उपचारको क्रममा शनिबार बिहान ज्यान गएको हो ।
ज्वरोकै कारण अस्पताल भर्ना भएकी मदनपोखरा पाल्पाकी २१ वर्षकी निरमा सारुलाई शुक्रबार मात्रै हेलिकप्टर मार्फत काठमाडौं रिफर गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ज्यान जानुको यकिन कारण खुलेको छैन । स्वाइन् फ्लुले ज्यान गएको भन्ने हल्लाको पुष्टि नभएको भन्दै सूचना अधिकारी ज्ञवालीले परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाएको जानकारी दिनुभयो ।
१५ दिनकै बिचमा उपचारको क्रममा ५ जनाको ज्यान गएपनि लुम्विनी मेडिकल कलेज, प्रभासले जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार मात्रै जानकारी गराएको हो । एक महिना अघिदेखि नै पाल्पामा रुघाखोकी, ज्वरो र मुत्रनलीको समस्या भएका बिरामीको संख्या बढेको स्वास्थ्यकर्मीले जनाएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७४ शनिबार ००:००  २ : ५० बजे