१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

डाक्टरको लापरवाहीले नवजात शिशुको मृत्यु



जनकपुर, साउन २२ ।  

जनकपुर अञ्चल अस्पतालमा शनिबार राति डाक्टरको लापरवाहीले एक नवजात शिशुको ज्यान गएको छ । सर्लाही ब्रह्मपुरी गाउँपालिका–२ भेल्ही बस्ने सविता मुखियाकी छोराकोे ज्यान गएको हो । डाक्टरले बच्चाको स्वास्थ्य उपचारमा ध्यान नदिँदा ज्यान गएको परिवारजनले आरोप लगाएका छन् ।

राजेश मुखियाकी श्रीमती सवितालाई व्यथा लागेपछि शनिबार दिउँसो अञ्चल अस्पतालको प्रसुती कक्षमा भर्ना गरिएको थियो । शनिवार राति १२ बजे सामान्य रुपमा शिशु जन्मेको थियो । सविताका जेठाजु विजय मुखियाका अनुसार बच्चा जन्मेपछि अवस्था सामान्य थियो । तर एकैछिनमा बच्चाको स्वास्थ्य बिग्रिन थाल्यो ।

यसबारे ड्युटीमा रहेका प्रसुति रोग विषेशज्ञ राजकिशोर पण्डितलाई पटकपटक बोलाउँदा नआएको र बाहिरको सुविधासम्पन्न निजी क्लिनिकमा लग्ने तयारीमा हुँदासमेत डिस्चार्ज नगर्दा आधा घण्टापछि शिशुको ज्यान गएको जेठाजु विजयले बताउनुभयो ।

जेठाजु विजय जनकपुर अञ्चल अस्पताल नजिकैको जानकी प्रहरीचौकीका प्रहरी जवान हुनु हुन्छ । शिशुको ज्यान गएपछि डाक्टर पण्डितलाई समयमा किन आउनु भएन भनेर प्रश्न गर्दा उल्टै डाक्टर पण्डितले  ‘तपाईं प्रहरी भएर के भो त ? गोली हान्नु हुन्छ हान्नुस्’ भनेर झपारेको जेठाजु विजयले गुनासो गर्नुभयो ।

ड्युटीमा रहेकी नर्सले भने बच्चा पेटमै मरिसकेको दावी गरिन् । आफ्नो नाम भन्न नमान्ने नर्सले डाक्टर पण्डित अनकल ड्युटीमा भएको र कसैलाई केही समस्या पर्दा बोलाएपछि मात्र आउने गरेको प्रतिक्रिया दिनुभयो ।

सविताको चार छोरीपछि छोरा जनमेको थियो । शिशुको ज्यान गएपछि मुखिया परिवार शोकमा डुबेको छ । पीडित परिवारले लापरवाही गर्ने डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

केही दिनअघि मात्र जनकपुर अञ्चल अस्पतालमै डाक्टरको लापरबाहीले एक १३ वर्षे बालक राजा मण्डलको ज्यान गएको थियो । जनकपुरमै अवैध निजी नर्सिंङहोम सञ्चालन गरेका डाक्टर रामपरीक्षण यादव मेसुको रुपमा आएपछि जनकपुर अञ्चल अस्पतालको अवस्था धारासायी बनेको आरोप लागेको छ ।

यसबारे मेसु यादवले पत्रकारसँग कुरा समेत गर्न मान्नुभएको छैन । यस विषयमा प्रतिक्रिया लिन खोज्दा पनि उहाँले फोन उठाउनु भएन ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ८ : ४४ बजे