१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भरतपुरका दुई वडाध्यक्षको शपथ रोकियाे



चितवन, साउन २२ । 

भरतपुर महानगरपालिका– ४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई आइतबार दिउँसो शपथ गराइने भएको छ ।

गए राति मेयरमा विजयी रेणु दाहाल, उपमेयर पार्वती शाह, महानगरका २७ वडाका वडाध्यक्ष र २९ वडाका वडा सदस्यलाई आइतबार दिउँसो ३ बजे शपथ दिलाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरे बताउनुभयो ।

निर्वाचित १४७ जनामध्ये आज १४५ जनाले शपथ लिनुहुने छ । । दुई वटा वडाका पराजित वडाध्यक्षका उम्मेदवारले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँंडा इजलासमा निवेदन दिएका थिए । त्यसपछि जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथ नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नू नगराउनू भनी विपक्षीका नाममा आदेश दिएको थियो ।

सोको फैसला भइनसकेकाले वडा नं ४ मा वडाध्यक्षमा निर्वाचित हरि आचार्य र वडा नं ७ मा निर्वाचित राजेन्द्रमणि काफ्लेको शपथ आइतबारका लागि रोकिएको हो ।

ती दुवै मुद्दामा अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश जारी गरेको छ । आदेशमा विपक्षीबाट प्रतिउत्तरसरहको लिखित जवाफ परेपछि पुनःविचार हुने उल्लेख छ ।

भरतपुर महानगरमा पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि सो वडाको साउन २० गते पुनःमतदान गरिएपछि निर्वाचित भएको लामो समयपछि शपथ हुन लागेको हो । रासस

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ८ : ४९ बजे