१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

२ महिना भित्र सन्तोषजनक काम नगरे ठेक्का रद्द हुन्छ : भैरहवा विमानस्थल



२२ साउन, भैरहवा ।
गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कम्पनीलाई विमानस्थल आयोजनाले ठेक्का रद्द गर्ने अन्तिम चेतावनी दिएको छ ।
चिनियाँ कम्पनीले सन्तोषजनक रुपमा निर्माण कार्य गर्न नसकेको कारण कम्पनीलाई अन्तिम पटक चेतावनी दिदै राम्रो काम गर्नका लागि २ महिनाको समयवधि दिइएको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजना प्रमुख ओम शर्माले जानकारी दिनुभयो ।
उहाँले २ महिनाको समयवधिमा सन्तोषजनक काम गर्न नसके निर्माण कम्पनीसँग ठेक्का रद्द गरिने बताउनु भयो । साथै उहाले विकल्पको रुपमा विमानस्थल निर्माणको लागि अर्को टेण्डर प्रक्रियाका कागजपत्रहरु समेत तयार भइरहेको बताउनु भयो ।
उहाले निर्माण कम्पनीले आर्थिक कारण देखाउदै काम गर्न नसकेको बताउनु भयो । मासिक ६ प्रतिशत काम सम्पन्न गर्नु पर्नेमा पछिल्लो समयमा चिनियाँ कम्पनीले ०.५ प्रतिशतका दरले मात्र काम गरिररहेको आयोजनाले जनाएको छ ।
विमानस्थलमा रन वे र टर्मिनल भवनको काम भइरहेको छ । अहिले विमानस्थलको करिब ३० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख शर्माले बताउनु भयो ।
विमानस्थल निमार्णका लागी चिनियाँ कम्पनीले नेपाली कम्पनी नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिलाई जिम्मा दिएको थियो ।
यी दुवै कम्पनीबीच रकम लेनदेनको विषयमा विवाद उत्पन्न भएपछि विगत ५ महिनादेखि चिनियाँ कम्पनी आफैंले विमानस्थलको निर्माण कार्य गर्दै आएको छ ।
२०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध बिमानस्थललाई स्तरोन्नती गरी अन्तर्रा्ष्ट्रिय बिमानस्थलका रुपमा निर्माण गर्न चिनको नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१८ जुलाई महिना सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तराष्ट्रिय बिमानस्थलको निर्माण सुरु भएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ११ : ११ बजे