१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

संसदीय समितिले आयल निगमले किनेको जग्गाको स्थलगत अनुगमन गर्ने



२२ साउन, काठमाडौ ।
व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम भण्डारणका लागि आयल निगमले खरिद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ । समितिको आइतबार बसेको बैठकले निगमको जग्गा खरिदमा अनियमितता भएको सम्बन्धमा स्थलगत अध्ययन गर्ने निर्णय गरेको सांसद सुवासचन्द्र ठकुरीले बताउनु भयो ।
समिति मंगलबारदेखि आयल निगमले किनेको झापा, सार्लाही, चितवन र भैरहवाको जग्गाको अनुगमनमा निस्किने सांसद ठकुरीले बताउनुभयो । जग्गा खरिदमा भएको अनियमितताका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगायतका सरोकारवाला निकाय र स्थानीयसँग पनि राय लिइने समितिले जनाएको छ ।
‘खरिद गरिएको जग्गाको भौतिक स्थिति, इन्जिनियरिङ पक्ष र मूल्यको सम्बन्धमा अध्ययन गरेर सम्बन्धित निकायलाई प्रतिवेदन बुझाउनेछ,’ सांसद ठकुरीले भन्नुभयो । जग्गा खरिद सम्बन्धमा निगमबाट फाइल झिकाएर अध्ययन भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  ११ : २३ बजे