१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पहिरोले पुरिएका रसुवाका तीनजनाको शव भेटियो, एकजना अझै बेपत्ता



रसुवा, साउन २३ ।
रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा वर्षासँगै आएको पहिरोले पुरिएका तीनजनाको शव फेला परेको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार ७८ वर्षका भक्तबहादुर नगरकोटी, २३ वर्षका मुना थापामगर र ४ वर्षका रविन थापा मगरको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार आइतबार राति झण्डै साढे १० बजे पैरेबेसी र ढकालस्वारामा खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएका घरमूली ७७ वर्षका धर्मबहादुर थापाको अवस्थामा भने अझै थाहा हुन सकेको छैन ।
जिल्लाका सुरक्षाकर्मी सोमबार बिहानैदेखि उद्धारमा खटिएका छन् । पहिरो ठूलो भएका कारण त्यहाँ पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको ३५ जनाको टोलीले उद्धार गर्न नसकेपछि दुईवटा स्काभेटर लगेर पुरिएका व्यक्तिको शव निकालिएको हो । रसुवाको सदरमुकाम धुन्चेबाट ४५ किलोमिटर पूर्वदक्षिणमा पर्ने त्यस क्षेत्रमा जाने बाटोमा विभिन्न स्थानमा झरेको पहिरो पन्छाउने काम गरेसँगै दिउँसो २ बजेतिर स्काभेटर त्यहाँ पुगेको थियो ।
हराइरहेका एकजनाको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । पहिरोका कारण पूर्ण रुपमा घर क्षति भएका परिवारलाई राहत रकम वितरण गरिएको छ । घर पूर्ण क्षति भएकालाई प्रति परिवार १० हजार रुपैयाँ वितरण गरिएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  १२ : ०४ बजे