१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

प्रदेश र प्रतिनिधिसभा चुनावको मिति तोक : निर्वाचन आयोग



काठमाडौं, २३ साउन ।
निर्वाचन आयोगले भदौ १ गतेसम्ममा प्रदेश सभा र प्रतिनिधिसभा चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका पदाधिकारीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भदौ १ गतेसम्म चुनावको मिति घोषणा गर्न आग्रह गरेका हुन् ।
प्रमुख आयुक्त आयोधीप्रसाद यादवले आगामी माघ ७ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकाले चाँडो मिति घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले भदौ १ गतेभित्र मिति घोषणा नभए निर्धा्रित समयमा चुनाव गर्न नसकिने बताउनुभएको छ । आयोगले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि आउँदो साउन २७ गतेभित्र बुझाउनसमेत भनेको छ ।
यस्तै प्रदेशसभा र प्रतिनिधिसभा चुनाव सम्बन्धी विधेयक पनि संसदमा फाष्ट ट्रयाकबाट पारित गरेर आयोगलाई दिन आग्रह गरेको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिनुभयो । यी दुवै विधेयक संसदको राज्य व्यवस्था समितिमा छलफलमा छन् ।
आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले आगामी मंसिरमै चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै २७ गतेभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आयोगलाई बुझाउने र भदौ १ गतेसम्म चुनावको मिति पनि घोषणा गर्ने आश्वासन दिनुभयो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा इलेक्ट्रिकल भोटिङ मेसिन प्रयोग गर्न प्रस्ताव गरेकोमा प्रधानमन्त्री देउवाले सरकार यसप्रति सकारात्मक रहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७४ सोमबार ००:००  १२ : ०८ बजे