१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुपा देउरालीलाई सन्धिखर्क नपाको मातहतमा सञ्चालन गरिने



अर्जुन भुसाल, २४ साउन ।
सन्धिखर्क नगरपालिकाले पर्यटन विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर कार्यपालिकाको वैठकले अर्घा भगवति मन्दिर, सुपा देउराली, सिद्धेश्वर शिवालय, गोपेश्वर पीठ मथुरा, खाँची दरबार लगायतका पर्यटकीय क्षेत्रको विकासमा विशेष जोड दिने भएको छ । सुपा देउराली मन्दिरलाई नगरपालिकाको मातहतमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सुपा देउराली नेपालकै प्रशिद्ध धार्मिक स्थलको रुपमा परिचत हुँदै गएको छ । वैठकले दीर्घकालिन महत्वका विभिन्न निर्णयहरु समेत गरेको छ । तत्कालै उपलव्धी हासिल गरेर चर्चा बटुल्ने खालका निर्णण्हरु भने छैनन् । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क भित्रका मोटरबाटो निर्माण, सूचना प्रविधिको विस्तार, सिटी टावर निर्माण, सामाजिक सुरक्षाभत्ता वितरणमा सहजता, कृषिमा जोड, फोहोर मैला व्यवस्थापनमा जोड दिने निर्णय भएको बताए । उनले अब छिट्टै नक्सा पासलाई सहज बनाउने कार्य अघि बढाइने बताए ।
‘विद्युत विस्तार तथा सौर्य सडक वत्ति जडान गरि उज्यालो नगरपालिकाको रुपमा परिणत गर्ने कार्यक्रम तय गरिएको छ’ उनले भने, ‘युवाहरुलाई विदेश जानबाट रोकी स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि पशुपालन र पर्यटन व्यवसायलाई विस्तार गर्ने योजना अघि सारिएको छ ।’ उनले खानेपानी समस्याको हल, एक वडामा एक खेल मैदान, पानी सिंचित गर्नका लागि टोल÷टोलमा पोखरी निर्माण, स्वास्थ्य विमाको व्यवस्था लगायतका कार्यहरु प्राथमिकतामा राखेको जानकारी दिए । ‘सरकारी स्कुलमा अंग्रेजी शिक्षाको व्यवस्था मिलाउनुका साथै पाणिनि वहुमुखी क्याम्पसको शैक्षिक स्तरलाई वृद्ध गर्न सहयोग गरिने छ’ उनले भने, ‘गरिव, दलित वृद्ध अपाङ्ग, पिछडावर्ग,जनजाति, बालबालिका, अल्पसंख्यक, एचआइभी संक्रमितको उत्थानका लागि विभिन्न खाले आय आर्जनका कार्यक्रम सञ्चालन गरिने छ ।’ भुसालले विभिन्न जातजातिका संस्कृतिको संरक्षणमा जोड दिने बताए । ‘नगर भू उपयोग नीति निर्माण, ट्राफिक पोष्ट खडा, नगर एम्भुलेनस सञ्चालन, छाडा चौपाया व्यवस्थाप गर्ने थालका थुप्रै महत्वपूर्ण निर्णयहरु भएका छन् ।’ उनले भने ।
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले जिल्ला अस्पतालाई ५० शैयाको बनाउन आवश्यक कार्यको थालनी गरि सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गरिने बताए । ‘विवादका कारण रोकिएको सालझण्डी सन्धिखर्क ढोरपाटन सडकको ट्रयाक खोल्ने कार्य सबैको सहमतिका आधारमा उचित स्थानबाट सञ्चालन गर्ने निर्णय गरेका छौं’ उनले भने, ‘सार्वजनिक जग्गाको संरक्षणमा विशेष योजनाका साथ लाग्ने भएका छौं ।’ उनले १२ ओटै वडामा कृषि प्राविधिकको व्यवस्था मिलाउने बताए । ‘बादर धपाउनका लागि १२ ओटै वडामा एक÷एक लाख रुपैयाँ विनियोजन गर्ने निर्णय भएको छ’ विकले भने, नगर प्रहरीको व्यवस्था मिलाइने भएको छ ।’ उनले सन्धिखर्क नगरपालिकालाई सुन्दर र समृद्ध बनाउनका लागि सबै निर्णयहरुलाई कार्यान्वयन गर्दै लैजाने बताए । नगर सभाबाट निर्णयहरु पारित गराउने उनले बताए ।

 

प्रकाशित मिति : २४ श्रावण २०७४ मंगलबार ००:००  ११ : ५६ बजे