१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

तीन पटक म्याद थप्दा समेत सडक निर्माण अधुरै



लुम्बिनी, २५ साउन ।
ठेकेदार कम्पनीको चरम लापर्बाहीका कारण व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकको भैरहवाको अञ्चलपरदेखि बेलहियाको डण्डा पुलसम्मको सडक र पुल निर्माणमा निकै ढिलाइ भएको छ ।
बेलहियादेखि बुटवल गोलपार्क हुँदै चिडिया खोलासम्म साढे २७ किलोमिटर सडक विस्तार गर्ने जिम्मा पाएको सडक विस्तार आयोजनाले ठेक्का व्यवस्थापन गरेका अन्य स्थानको काम सन्तोषजनक रुपमा अगाडि बढे पनि भैरहवामा निर्माणाधीन सडकले निकै दुःखी बनाएको बताएको छ ।
दुई दशमलव एक किलोमिटर सडक र डण्डा पुल निर्माणको जिम्मा पाएको कालिका तामाङ प्यासेफिक जेभीले ठेक्का सम्झौता गरेको दिनदेखि आजसम्ममा जम्मा ६५ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ भने ५९ प्रतिशत मात्र वित्तीय प्रगति गरेको छ ।
सन् २०१४ जुन १६ मा ठेक्का सम्झौता गरेका कालिका तामाङ प्यासेफिक जेभीले २०१६ जुलाई १६ मा ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गर्नुपर्ने थियो ।
सडक र पुल निर्माण भएर आम मानिस निर्धक्क यात्रा गरिसक्नुपर्ने बेला ठेकेदारको लापर्बाहीका कारण कतिबेला कहाँ दुर्घटनामा परिने हो भन्दै निकै सोच विचार पु¥याएर स्थानीयवासीलाई हिँड्नुपर्ने बाध्यता छ ।
असक्षम ठेकेदार कम्पनीले सडक निर्माणको जिम्मा लिएका कारण तीन पटक म्याद थपेर काम गर्दा समेत आशलाग्दो प्रगति हुन सकेको छैन । पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन र तामाङ कन्स्ट्रक्सनले सडक निर्माणको जिम्मा लिएका थिए । रासस

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  ८ : ५५ बजे