१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पूर्व तथा मध्य तराईका नदीमा बाढीको खतरा, सतर्क रहन आग्रह



काठमाडौं, २६ साउन ।
पूर्वको झापाबाट मध्य तराईको बारासम्मका नदीमा बिहीबार बाढी आउने सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बिहीबार पूर्व र मध्य क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले तराईमा डुबान तथा पहाडमा पहिरोको जोखिम बढेको भन्दै सावधानी अपनाउन शाखाले आग्रह गरेको हो । कन्काई, कमला, बाग्मती, खाडो, रातु लगायत चुरेबाट बहने साना नदीमा बाढी आउने भन्दै नदी तटिय क्षेत्रका बासिन्दालाई शुक्रबार बिहानैसम्मै सतर्क रहन शाखाले अनुरोध गरेको छ ।
मनसुनी न्यूनचापिय क्षेत्र नेपाल नजिकै भएको तथा भारतको मध्यप्रदेशमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले बिहीबार झरी पर्ने मौसमविद वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावले अहिले पनि देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ ।
दिउँसो एकैछिन पानी पर्न रोकिएपनि झरी पर्ने उहाँले जानकारी दिनुभयो । झरीसँगै पहाडी क्षेत्रमा पहिरो तथा तराईका क्षेत्रमा डुबानको खतरा बढेको भन्दै उहाँले सावधानी अपनाउन सबैलाई आग्रह गनुभएको छ ।

 

प्रकाशित मिति : २६ श्रावण २०७४ बिहिबार ००:००  ३ : १० बजे