२० आश्विन २०७९, बिहिबार | Thu Oct 6 2022

हेर्नुस बाढीबाट जोगिन फरक तरिका



काठमाडौं, ३० साउन ।
मौसम परिवर्तनका कारण पानी पर्ने प्रवृत्ति फरक देखापर्न थालेको छ । तराई र चुरे क्षेत्रमा बढी पानी परेकाले त्यही क्षेत्रमा बढी क्षति पुगेको छ । यसले के इंगित गर्छ भने तटबन्ध, जलाशय र अन्य पूर्वाधारले मात्र बाढी र डुबान समस्या समाधान गर्न सक्दैन । ब्यारेज तथा बाँध क्षेत्रभन्दा तल पानी परेको छ । पानी परेको अवस्थामा नदीमा मात्र बाढी आएको होइन । तटबन्धले नदीको पानी थुनिदिन्छ, नदी भएर तटबन्धइतरका पानी मिसिन पाउँदैन र जताततै डुबान समस्या हुन्छ । बढ्दो जनसंख्या, सडक आदि पूर्वाधार विकासका कारण पनि बाढी तथा डुबानजन्य समस्या बढेका छन् । यो खबर माधव बेल्बासेले आजको अन्नपूर्णमा लेखेका छन् ।
यसले गर्दा पूर्वाधारहरू आफैं डुबान समस्या ल्याउने जोखिम तत्वका रूपमा विकसित भए । जल मौसम तथा विज्ञान विभागले पूर्वी क्षेत्रमा ठूलो पानी पर्छ, होसियार रहनुपर्छ भनेर पूर्वचेतावनी दिएकै हो । राज्यका संयन्त्रमध्ये यसले एउटा राम्रो काम ग¥यो । तर, बाढी र पहिरोसित जुध्ने हाम्रो अरू क्षमता भएन । राज्यका अरू संरचना पनि उत्तिकै सबल भइदिएको भए यो जनधनको क्षति निकै कम हुन्थ्यो ।
बाढी तथा पहिरो पूर्वानुमानका साथै राज्यका अरू निकाय समुदाय, सुरक्षा आदिका क्षमता पनि त्यसअनुसार विस्तार हुँदै जानुपर्छ । सूचना प्रणाली दिगो र भरपर्दाे भएपछि अरू संयन्त्रको पनि तदनुरूप क्षमता बढाइनुपर्छ । किनभने, पूर्वाधारले मात्र यस्ता जोखिम नियन्त्रण तथा न्यूनीकरण गर्न असम्भव छ भन्ने देखाइसकेको छ । पूर्वाधार निर्माण, नदी नियन्त्रण, तटबन्ध विस्तार आदिले मात्र कुनै हालतमा सम्भव हुँदैन । राज्यका निकाय, समुदाय र गाउँलाई नै क्षमतायुक्त बनाउनुपर्छ ।
समुदायमा यस्तो अवधारणा व्यापक पारिनुपर्छ । बाढी आउँदा समुदाय÷गाउँका बासिन्दा सुरक्षित स्थानमा आउन सक्ने हुनुपर्छ। यसका लागि ठाउँ—ठाउँमा यस्ता सुरक्षित स्थान निर्माण गरिनुपर्छ, जसमा खाद्यान्न, सफा पानी र बसोबासको पर्याप्त सुविधा होस् । अबका दिनमा यस्ता कार्य नगरीकन इन्जिनियरिङ समाधानले मात्र सम्भव छैन । पानीको प्रकृति उस्तै भए पनि वैशाख र साउनमा परेको प्रभावचाहिँ फरक पर्छ । वैशाखमा जमिन सोस्छ र क्षति कम हुन्छ तर साउनमा सतहमै पानी दौडिन्छ र क्षति बढी हुन्छ ।
मौसम परिवर्तनका कारण जलस्रोत क्षेत्रका ज्ञाता तथा विज्ञले परम्परागत रूपमा गर्दै आएका संघर्षले मात्र अब पुग्ने भएन । यो उनीहरूका लागि ठूलो चुनौती हो। सय वर्षमा बाढी आउने अनुमान गरेर संरचना तथा पूर्वाधारहरू निर्माण गरिए, २५ वर्षमै बाढी आउन थाल्यो । जसले गर्दा अर्बौ रुपैयाँ खर्चेर बनाइएका पूर्वाधारको विनाश मात्र होइन, जनधनको पनि क्षति हुन्छ । अबका संरचना निर्माण गर्दा ‘फ्युज सिस्टम’मा जानुपर्छ । उदाहरणका लागि सन् २०१४ मा बबईमा आएको बाढीले बायाँ किनारको तटबन्ध भत्काइदियो ।
बबई हेडवक्र्सको डिजाइन ७ हजार दुई सय ५० क्यूमेक्स पानी धारण गर्ने हो । तर, ११ हजार क्यूमेक्सले नै उक्त तटबन्ध भत्काइदिएको थियो । यो तटबन्ध भत्किनु भनेको मुख्य संचरना (हेडवक्र्स) सुरक्षित रहन पुग्यो । दुई(चार करोडको क्षति भएर अर्बा रुपैयाँको संरचना जोगियो । ठूलो बाढी आएका बेला यस्ता ‘फ्युज सिस्टम’ले मुख्य संरचनालाई जोगाउने गर्छ ।
मौसम परिवर्तनका प्रभावले गर्दा बढी पानी पर्ने र सुक्खा हुने चरम घटना बढेको अवस्थामा मौसम परिवर्तनको अनुभूति नगरिएको बेला लिइएका जलविज्ञान तथा मौसमसम्बन्धी तथ्यांकका आधारमा गरिएका पूर्वानुमान सही नहुन सक्छ भन्ने विषयमा वैज्ञानिकहरूको धारणा छ । यस्तो अवस्थामा सुरक्षित डिजाइनका लागि अनुभवबाट सिक्दै वर्षा र बाढीको मोडलिङ (व्यावहारिक अभ्यासमा आधारित डिजाइन) गरी संरचनाहरू निर्माण गर्नु उपयुक्त हुन्छ र सोहीअनुसार सुरक्षासम्बन्धी कार्यहरू अवलम्बन गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  १ : ३४ बजे