१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गुल्मिमा बिजुली नआउँदा फोन सम्पर्क टुट्यो



गुल्मी, ३१ साउन ।
अविरल वर्षासँगैको पहिरोले बिद्युत परियोजनाको नहर बगाउँदा बत्ती बाल्न नपाएका गुल्मी मुसीकोटका जनतासँग सञ्चार सम्पर्क पनि टुटेको छ ।
गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ७ मा रहेको तल्लो तथा उपल्लो दरमखोला लघु जलविद्युत परियोजना संचालन हुन अझै एक सताभन्दा बढी लाग्ने प्राविधिकले बताएका छन् ।
बिद्युत आपूर्ति बन्द भएपछि मुसीकोट नगरपालिकाको वामी टक्सार लगायत बागलुङको खर्वाङ आसपासका क्षेत्रमा सञ्चार सम्पर्क पनि टुटेको छ ।
नेपाल टेलिकमको जिएसएम सिडिएमए, ल्याण्डलाइन, वाइम्याक्स, एडिएसएल सेवा ठप्प वनेको छ । विद्युत नहुँदा सवैका मोवाईल स्वीच अफ भएका छन् । नेपाल टेलीकम गुल्मीका प्रमुख उमनाथ पोखरेलका अनुसार विद्युत लामो समय नआउँदा आफूले केहि गर्न नसक्ने बताउनुभयो ।
विद्युत संचालन हुन अझै केहि दिन लाग्ने देखिएको छ । ८५ किलोवाट क्षमताको तल्लो दरमखोला लघु जलविद्युत परियोजनाको नहरको केहि भाग नै पहिरोले वगाएको छ भने वाँध पुरेको छ ।
पुरेको नहर सफा गरिए पनि पहिरोले वगाएको नहर निर्माण गर्न कम्तिमा अझै एक हप्ता लाग्न सक्ने विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।
वाँधमा पहिरोले पुरेको तथा विद्युतको हाइटेन्सन लाइनकै केहि पोल पहिरोले वगाएको र भाँचिएकोले विद्युत सुचारु हुन केहि दिन लाग्न सक्ने अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  २ : २१ बजे