१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दाङमा बाढीले पाइप बगाउँदा खानेपानीको संकट



दाङ, ३१ साउन ।
अविरल वर्षापछि बाढीले खानेपानीको पाइप बगाउँदा दाङमा खानेपानीको अभाव देखिएको छ । तुलसीपुर खानेपानी तथा सरसफाइ समितिअन्तर्गतका तीन हजार बढी उपभोक्ता पाँच दिनदेखि खानेपानीको अभावमा पिल्सिएका छन् ।
शुक्रबार राति आएको अविरल वर्षासँगै बाढीले खानेपानीको मुहान मूलकोट, पातुखोला र बेलुवाको पाइप बगाउँदा खानेपानीको अभाव देखिएको खानेपानी समितिका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभएको छ ।
तुलसीपुर, रक्षाचौर, मजुवा, बेलुवा, गणेशपुर लगायतका उपभोक्ता विगत पाँच दिनदेखि खानेपानीको अभाव भोगीरहेका छन् ।
खानेपानीको विकल्प नहुँदा उपभोक्ताले मिनरल वाटर तथा आकाशको पानी थापेर खान बाध्य भएका छन् ।
त्यसैगरी विगत पाँच दिनदेखि पानी नआउँदा राप्ती आँखा अस्पतालमा समेत पानीको हाहाकार भएको छ । अस्पतालमा आउने बिरामीलाई ट्यांकरबाट बोकाएर खानेपानीको व्यवस्था मिलाएको लेखा प्रमुख कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  २ : ४८ बजे