७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

युवा संघ नेता दुर्गा तिवारी हत्याका अभियुक्त पक्राउ



बुटवल, ३१ साउन ।
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या लगायत विभिन्न अपराधमा संलग्न रहेको आरोप लागेका मनोज पुनका एक सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले पाल्पाको तानसेन नगरपालिका ७ का २२ वर्षे सुशान्त लाकौललाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले विगत ३ वर्ष यता मनोजको संगठनमा संलग्न भएर उनको निर्देशनमा विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिइ रकम उठाउने गरेका थिए । पटक पटक उठाएको ५ लाख रकम बैंक तथा आइएमई मार्फत पठाएको प्रमाणको आधारमा लाकौललाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताउनुभयो ।
मनोज पुन भन्ने मनोज बुढाले संगठन बनाएर विगत ४ वर्ष यता रुपन्देहीमा ज्यान मार्ने, अपहरण गर्ने र व्यवसायीलाई धम्काएर रकम असुल्ने गरेका छन् । उनले परिचालन गरेका व्यक्ति तथा समुह सदस्यको आरोपमा प्रहरीले अहिलेसम्म १८ जनालाई पक्राउ गरेको छ । यद्यपि मुख्य नाइके मनोज भने पक्राउ परेका छैनन् । विदेशमा रहेका र रेड नोटिस जारी नभएका कारण उनलाई पक्राउ गर्न समस्या परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  ३ : १४ बजे