२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

आज सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै



कैलाली, १ भदौ ।
भाद्र कृष्णपञ्चमी अर्थात भाद्र सक्रान्तीका दिन बिहीबार सुदूरपश्चिमका जिल्लाहरूमा ओल्के पर्व धुमधामका साथ मनाइँदैछ । ओल्के भन्नाले सौगात उपहार वा कोसेली भन्ने बुझिन्छ । वर्षा ऋतुसँगै नवजीवन प्राप्तिको उत्सवको रुपमा ओल्के पर्व मनाइन्छ ।
बिहानै नुहाईधुवाई गरी विभिन्न परिकार बनाएर आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने गरिन्छ । आफूभन्दा ठूलावडा, मान्यजन वा जेष्ठ नागिरकलाई सम्मान स्वरुम गाभा अर्थात कर्कलाको भित्री पात फलफूल आदि दिनु मीठो मसिनो खानु, हातमा मेहन्दी लगाउनु यस पर्वका भिन्नै विशेषता हुन् । यस पर्वपछि विभिन्न चाडपर्व सुरु हुने हुँदा यस पर्वलाई यहाँका बासिन्दाले जेठो पर्वका रुपमा पनि लिने गर्छन् ।
यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु हो । आजका दिनमा गाउँगाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् । आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको बुढापाकाको भनाई छ ।
विजय उत्सवका रुपमा मनाइने बुढी हाल्ने र पोल्ने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । परम्परागत किंबदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला) ले पुतनाको शव दहन गरेको कथन रहे अनुसार यो पर्व मनाइन्छ ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  २ : ५० बजे