८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

घुम्ती शिबिरबाट ७४० जनाले नागरिकताको प्रमाणपत्र पाए



बिष्णु कुमार आले, अर्घाखाँची, १ भदौ ।
अर्घाखाँचीको सितगंगा नगरपालीकाको कार्यालय ठाडामा संचालन भएको नागरिकता बनाउने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिवर आएपछी दुर्गमभेगका नागरिकले सेवा पाएका छन् । यहि साउन २२, २३ र ३१, ३२ गते संचालन भएको घुम्ती शिबिरबाट ७४० जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् भने ७६ जनाले जेष्ठ नागरिक परिचयपत्र र ३६ जनाले अपाङ्गता परिचयपत्र पाएका छन् । नगरपालीकाको निकै दुर्गम क्षेत्र सिद्घाराको दोबाटा, बठेनी, सिमलपानीको बिक्रमसोता, पावरा, करेचुली, जलुकेको दमारबेसी, नौमुरे, सियाँला, लाहापे, भालुवाङ्ग आसपास बाट झन्डै दुई दिन १६, १७ घण्टा पैतल हिडेर जनता नागरिकता बनाउन आएका थिए । सिमलपानी, जलुके, जुकेना, सुर्वणखाल, सितापुर, ठाडाका कुना कुनाबाट आएका सर्वसाधारणले सेवा पाएका छन् । सेवा ग्राहीलाई सहजहोस भन्ने उदेश्यले दुर्गमका वडा अध्यक्षहरु नगरपालीकाको कार्यालयमा बसेर नागरिकलाई सेवा प्रदान गरेका थिए ।
लामो समय पछी पटक पटक गरि संचालन भएको चार दिने सिबिरमा सेवाग्राहीको निकै भिड लागेको थियो । सिबिरमा नेपाली नागरिकताको प्रमाण पत्र पाएपछी मतदाता नामावलीमा नाम दर्ता गर्ने नागरिकहरुको पनि बाक्लो भिड बढेको थियो । नागरिकता बनाउन टाढा टाढाका नागरिक दुई दिनको पैतल बाटो हिडेर अघिल्लो दिनै ठाडामा बासा बस्न आएका थिए । शिबिरमा पहिलो नयाँ नेपाली नागरिकताको प्रमाणपत्र, जेष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्र मात्र बितरण गरिएको थियो ।
नगरमा साउन १६ गते देखी मतदाता नामावलीमा नाम दर्ता गराउने टोली आएपछी अहिले सम्म २२५० भन्दा बढिले आफनो नाम नामावलीमा दर्ता गराएका छन् । नामावलीमा नाम दर्ता गर्न छुटेका दुर्गमका नागरिकलाई सहज होस भन्ने उदेश्यले मतदाता नामावलीमा नाम दर्ता गर्ने समय भदौ ३ गते सम्म थप गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ४ : १६ बजे